कास्की । पर्यटकीय राजधानी पोखरामा नेपालीहरूको प्रमुख पर्व दसैँलाई पर्यटनसँग जोड्ने उद्देश्यले ‘दसैँ पर्यटन तथा सांस्कृतिक महोत्सव’ आयोजना गरिने भएको छ। ‘टीका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दसैँ भेट’ भन्ने नारासहित आयोजना हुने महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन लेकसाइडस्थित बाराहीघाट मैदानमा हुने भएको हो।
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सवको तयारी तीव्र पारिएको कार्यक्रम संयोजक उमा भण्डारीले जानकारी दिइन्। उनका अनुसार नेपाली समाजमा पारिवारिक तथा धार्मिक महत्व बोकेको दसैँ पर्वलाई पर्यटकसँग जोड्दै नेपाली संस्कृति, परम्परा, खानपान र जीवनशैलीबारे प्रत्यक्ष अनुभव गराउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो।
पर्यटन व्यवसायीका अनुसार पोखरामा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँको प्राकृतिक सुन्दरतासँगै नेपाली मौलिक संस्कृति र परम्पराको अनुभव गराउन सके पर्यटनको आकर्षण थप विस्तार गर्न सकिनेछ। यही उद्देश्यलाई ध्यानमा राख्दै दसैँ पर्वका मौलिक पक्षलाई पर्यटन गतिविधिसँग जोडेर महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
पर्यटकलाई टीका र जमरासहित सांस्कृतिक अनुभव
महोत्सवमा पोखरा भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली परम्पराअनुसार टीका र जमरा लगाइदिने कार्यक्रम राखिएको छ। त्यस्तै, दसैँसँग जोडिएको मनोरञ्जनात्मक गतिविधिका रूपमा चङ्गा चेट प्रतियोगिता समेत आयोजना गरिनेछ।
विभिन्न जातजाति तथा समुदायका मौलिक सांस्कृतिक प्रस्तुति पनि महोत्सवका प्रमुख आकर्षणका रूपमा रहनेछन्। स्थानीय कला, संगीत, नृत्य तथा परम्परागत सांस्कृतिक गतिविधिमार्फत पोखरामा रहेका विविध समुदायको मौलिक पहिचानलाई पर्यटकमाझ प्रस्तुत गरिने आयोजकले जनाएको छ।
महोत्सवमा नेपाली मौलिक खानाका विभिन्न परिकार, स्थानीय उत्पादन, परम्परागत सामग्री, कला तथा हस्तकलाका सामग्रीका साथै पर्यटनसम्बद्ध व्यावसायिक गतिविधिलाई समेत समेटिने कार्यक्रम संयोजक भण्डारीले बताइन्।
पर्यटन क्षेत्रका संस्थाको सामूहिक सहभागिता
महोत्सवलाई सफल बनाउन पोखराका विभिन्न पर्यटनसम्बद्ध सङ्घसंस्थाले सामूहिक प्रतिबद्धता जनाएका छन्। कार्यक्रमलाई कुनै एक संस्थाको मात्र गतिविधिका रूपमा नभई पोखराको पर्यटन क्षेत्रकै साझा कार्यक्रमका रूपमा अघि बढाउनुपर्नेमा पर्यटन क्षेत्रका प्रतिनिधिले जोड दिएका छन्।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले दसैँलाई पर्यटनसँग जोडेर महोत्सव आयोजना गर्नु पोखराको संस्कृति र पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने अवसर भएको बताए।
उनका अनुसार दसैँ नेपालीको मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व भएकाले यसको माध्यमबाट नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई नेपाली समाज, संस्कार र परम्पराको प्रत्यक्ष अनुभव गराउन सकिन्छ।
“दसैँ हाम्रो मौलिक संस्कृति र परम्परासँग जोडिएको पर्व हो। यसलाई पर्यटनसँग जोडेर देश–विदेशबाट आएका पर्यटकलाई हाम्रो संस्कृति अनुभव गराउन सकिन्छ,” भुजेलले भने।
उनले महोत्सवलाई एउटा संस्थाको कार्यक्रमका रूपमा मात्र सीमित नगरी पोखराका सबै पर्यटनसम्बद्ध संस्थाले साझा कार्यक्रमका रूपमा लिएर अघि बढ्नुपर्ने बताए।
पोखराको संस्कृति पर्यटकीय उत्पादनका रूपमा चिनाउने अवसर
ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले महोत्सवलाई एउटा सामान्य सांस्कृतिक कार्यक्रमभन्दा पनि पोखराको संस्कृति, परम्परा र पहिचानलाई पर्यटकीय उत्पादनका रूपमा स्थापित गर्ने अवसरका रूपमा लिनुपर्ने बताइन्।
पोखराको पर्यटन प्रवर्द्धनमा प्राकृतिक सौन्दर्यको महत्वपूर्ण भूमिका रहे पनि यहाँको मौलिक कला, संस्कृति, खानपान र सामाजिक जीवनलाई समेत पर्यटनसँग जोड्न सकिए पर्यटकको अनुभव थप समृद्ध बन्ने उनको भनाइ छ।
उनले महोत्सवलाई प्रभावकारी बनाउन पर्यटन व्यवसायी, स्थानीय समुदाय, सांस्कृतिक समूह तथा सम्बन्धित सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्।
‘पोखरा घुमाउने मात्र होइन, संस्कृति अनुभूति गराउने’
ओटेफका अध्यक्ष ममता न्यौपानेले पोखराको प्राकृतिक सुन्दरतासँगै यहाँको कला, संस्कृति र परम्परालाई पनि पर्यटकमाझ पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बताइन्।
उनका अनुसार पोखरा आउने पर्यटकले हिमाल, ताल र प्राकृतिक दृश्य मात्र नभई नेपाली समाजको मौलिक जीवनशैली र संस्कृतिको समेत अनुभव गर्न सक्ने वातावरण बनाउन आवश्यक छ।
“हामीले पर्यटकलाई पोखरा घुमाउने मात्रै होइन, पोखराको संस्कृति अनुभूति गराएर फर्काउने वातावरण बनाउनुपर्छ,” न्यौपानेले भनिन्।
महोत्सवमार्फत दसैँ पर्वको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्दै पोखरामा आउने पर्यटकलाई नेपाली पर्व, परम्परा र सामुदायिक जीवनको प्रत्यक्ष अनुभव गराउने आयोजकको लक्ष्य छ। यसबाट पोखराको पर्यटनमा सांस्कृतिक गतिविधिको आयाम थपिने अपेक्षा गरिएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया