काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबीको क्षति मूल्याङ्कनका लागि सर्भेयर खटाउने प्रक्रियालाई स्वचालित र पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन सिस्टम’ विकास गरेको छ। प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि उक्त प्रणालीको परीक्षणसमेत सुरु गरेको जनाएको छ।
सर्भेयर खटाउने प्रक्रियामा पारदर्शिता, समान अवसर र जवाफदेहिता कायम गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो। नयाँ प्रणालीका विषयमा असोज १३ गते निर्जीवन बीमा कम्पनीका आईटी प्रमुख र क्लेम प्रमुख गरी ३६ जनालाई अनलाइनमार्फत तालिम दिइने प्राधिकरणले जनाएको छ। त्यसपछि सर्भेयरहरूलाई पनि प्रणाली सञ्चालनसम्बन्धी तालिम दिइनेछ।
प्राधिकरणका अनुसार प्रणालीमा सर्भेयरको विशेषज्ञता, उपलब्धता, भौगोलिक स्थान, वरिष्ठता, पोर्टफोलियो तथा यसअघि पाएको काम लगायतका विवरणलाई आधार बनाइनेछ। कुनै बीमा दाबी प्रणालीमा दर्ता भएपछि सम्बन्धित घटनाका लागि उपयुक्त सर्भेयर छनोट प्रणालीले तोकिएका मापदण्डका आधारमा गर्नेछ।
उदाहरणका लागि कुनै सवारी दुर्घटनासम्बन्धी बीमा दाबी परेमा उक्त विषयमा आवश्यक विज्ञता भएको, सम्बन्धित क्षेत्रमा उपलब्ध रहेको, आवश्यक वरिष्ठता भएको र तत्काल काम लिन सक्ने सर्भेयरमध्ये प्रणालीले उपयुक्त व्यक्ति छनोट गर्नेछ। यसले बीमा कम्पनीका अधिकारीले हरेक पटक म्यानुअल रूपमा सर्भेयर छनोट गर्नुपर्ने अवस्थालाई कम गर्ने अपेक्षा गरिएको छ।
हाल सर्भेयर छनोट प्रक्रिया वैज्ञानिक तथा पारदर्शी नभएको, एउटै सर्भेयरले धेरै काम पाउने र कतिपयले पर्याप्त अवसर नपाउने गुनासो आउने गरेको प्राधिकरणले जनाएको छ। त्यस्तै, बीमा कम्पनीहरूले आफ्नो रोजाइका सर्भेयरलाई मात्र काम दिने गरेको गुनासोसमेत आउने गरेको छ।
हाल व्यक्तिगत सर्भेयरले पाँचवटा र संस्थागत सर्भेयरले १० वटासम्म काम लिन पाउने व्यवस्था छ। तर उनीहरूले पाएको कामको प्रभावकारी अभिलेख राख्न कठिन भइरहेको अवस्थामा नयाँ प्रणालीले सर्भेयरले कति काम पाएका छन्, कुन काम सम्पन्न गरेका छन् र नयाँ काम लिन सक्ने अवस्थामा छन् कि छैनन् भन्ने विवरण ट्र्याक गर्न सक्नेछ।
प्राधिकरणका अनुसार प्रणालीमा हाल ६८० जना सर्भेयरको विवरण प्रविष्ट भइसकेको छ। त्यसमध्ये ८८ जना संस्थागत सर्भेयर रहेका छन् भने बाँकी व्यक्तिगत सर्भेयर छन्।
प्रणाली विकासका क्रममा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, सर्भेयर, क्लेम प्रमुख तथा आईटी प्रमुखलगायत सरोकारवालासँग छलफल गरी सुझाव लिइएको थियो। प्राप्त सुझावका आधारमा सर्भेयर छनोटका आधार र आवश्यक प्यारामिटर निर्धारण गरी सफ्टवेयर विकास गरिएको प्राधिकरणले जनाएको छ।
प्रणाली सञ्चालनमा आएपछि यसको कार्यक्षमता र स्थिरतालाई केही समय नजिकबाट निगरानी गरिनेछ। साथै प्रणालीको सुरक्षाका लागि फायरवाल, भीएपीटीपी (VAPT) लगायतका सुरक्षा परीक्षणसमेत गरिने प्राधिकरणको भनाइ छ।
नयाँ प्रणालीले सर्भेयर छनोटमा हुने दोहोरोपन तथा असमान कार्यवितरण पहिचान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ। सर्भेयर छनोटको आधार र त्यससम्बन्धी विवरण प्रणालीमै रहने भएकाले निर्णय प्रक्रियामा पारदर्शिता र जवाफदेहिता बढ्ने प्राधिकरणको विश्वास छ।
प्राधिकरणका अनुसार स्वचालित प्रणालीका कारण बीमा दाबीको क्षति मूल्याङ्कन प्रक्रियामा लाग्ने समय र लागत घटाउन समेत सहयोग पुग्न सक्छ। सर्भेयर छनोटमा हुने ढिलाइ, पुनः मूल्याङ्कन तथा दाबी प्रक्रियासँग जोडिएका केही विवाद न्यूनीकरण गर्न पनि प्रणाली उपयोगी हुने अपेक्षा गरिएको छ।
दीर्घकालमा प्रणालीमार्फत सर्भेयरसम्बन्धी ठूलो परिमाणमा तथ्यांक संकलन हुने भएकाले सर्भेयरको सेवा प्रवाह, कार्यसम्पादन तथा सेवाग्राहीले प्राप्त गरेको सेवाका विषयमा अध्ययन गर्न र भविष्यमा नीति निर्माण गर्नसमेत तथ्यांक उपयोगी हुने प्राधिकरणले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया