वैदेशिक रोजगारीलाई जितेको गोलभेँडा खेती

46 Shares

सर्लाही । हरिवन नगरपालिका–४ सासापुरका महमद अकबर अन्सारीका लागि गोलभेँडा खेती दैनिकी चलाउने माध्यम मात्र होइन, आर्थिक उन्नतिको आधार बनेको छ। वैदेशिक रोजगारीमा लामो समय बिताएर गाउँ फर्किएका अन्सारी पछिल्ला आठ वर्षदेखि व्यावसायिक रूपमा गोलभेँडा खेती गर्दै आएका छन्।

मङ्गलबार हरिवन नगरपालिका–२ पाकरगाछी नजिकैको खेतमा भेटिएका अन्सारी गोलभेँडाको बेर्ना रोप्ने तयारीमा व्यस्त थिए। यस वर्ष उनले सात बिघा खेतमा गोलभेँडा खेती गर्ने योजना बनाएका छन्। तीमध्ये तीन बिघामा दुई चरणमा बेर्ना रोपिसकेका छन्। थप दुई बिघाका लागि टनेलमा बेर्ना तयार अवस्थामा छन् भने बाँकी दुई बिघाका लागि बीउ राख्ने काम भइरहेको छ।

अन्सारीले अधिकांश खेतमा ‘कविता’ जातको गोलभेँडा लगाउने गरेका छन्। बजारमा यस जातको माग राम्रो रहेको उनको अनुभव छ।

१० बिघाबाट ७५ लाखको उत्पादन

अन्सारीले गत वर्ष १० बिघा खेतमा गोलभेँडा खेती गरेर ७५ लाख रुपैयाँभन्दा बढीको उत्पादन लिएको बताए। बीउबिजन, मलखाद, जग्गा भाडा, ज्यालालगायत खर्च कटाएर ५० लाख रुपैयाँभन्दा बढी मुनाफा भएको उनको भनाइ छ।

त्यही आम्दानीबाट घरमा थप एक तला निर्माण गर्नुका साथै दुई कट्ठा १० धुर घडेरी जोडेको उनले बताए।

अन्सारीसँग आफ्नै पाँच कट्ठा खेत मात्र छ। व्यावसायिक खेती विस्तार गर्न उनले हरेक वर्ष अन्य किसानको जग्गा ठेक्कामा लिने गरेका छन्। प्रतिबिघा खेतको वार्षिक भाडा करिब ६० हजार रुपैयाँ तिर्ने गरेको उनले बताए।

उनका अनुसार वर्षायाममा मकै र अन्य समयमा गोलभेँडा तथा हरियो तरकारी लगाउने गरिएको छ। तरकारी खेतीमा श्रम र जोखिम धेरै भए पनि मेहनतअनुसार आम्दानी हुने उनको अनुभव छ।

विदेशमा पाँच वर्ष बिताए, गाउँ फर्किएर खेती रोजे

अन्सारी सन् २००९ को अन्त्यतिर रोजगारीका लागि कतार पुगेका थिए। करिब साढे चार वर्ष कतार बसेर फर्किएपछि रोजगारीको विकल्प नहुँदा उनी पुनः विदेश गएका थिए। दोस्रोपटक कृषि कामदारका रूपमा कतार पुगेका उनी करिब एक वर्षमै नेपाल फर्किनुपर्‍यो।

विदेशमा पाँच वर्षभन्दा बढी समय बिताए पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि उनले गाउँमै व्यावसायिक तरकारी खेती गर्ने निर्णय गरेका हुन्।

उनका अनुसार अहिले यही खेतीबाट परिवारको खर्च र सन्तानको शिक्षाको जिम्मेवारी पूरा भइरहेको छ। उनका चार सन्तानमध्ये जेठो छोरा भारतमा अध्ययनरत छन् भने अन्य तीन जना नेपालमै अध्ययन गरिरहेका छन्।

“पाँच वर्षभन्दा बढी विदेशमा दुःख गरेँ, तर त्यसबाट कुनै ठूलो उपलब्धि भएन। त्यसपछि गाउँघरमै पितापुर्खाले गर्दै आएको व्यावसायिक तरकारी खेती गर्ने योजना बनाएँ। अहिलेसम्म राम्रो भइरहेको छ,” अन्सारीले भने।

उनले घरखर्च मात्रै मासिक करिब एक लाख रुपैयाँ हुने भन्दै त्यसका लागि आफ्नो मुख्य आधार नै कृषि बनेको बताए।

परिवारकै पुरानो अनुभव

अन्सारीका लागि गोलभेँडा खेती नयाँ व्यवसाय भने होइन। उनका बुबाले करिब ३५ वर्षदेखि गोलभेँडा खेती गर्दै आएका छन्। अहिले उनका दाजुभाइ, काकालगायत परिवारका सदस्यले समेत गरी ३० बिघाभन्दा बढी क्षेत्रफलमा गोलभेँडा खेती गर्दै आएका छन्।

लामो समयको अनुभवका आधारमा अन्सारीले उत्पादन र बजारको जोखिम घटाउन खेती गर्ने आफ्नै तरिका अपनाएका छन्। उनी एउटै समयमा सबै क्षेत्रमा गोलभेँडा रोप्दैनन्।

उनका अनुसार १० देखि १५ दिनको अन्तरमा तीनदेखि चार लटमा गोलभेँडा रोप्ने गरिएको छ। यसरी फरक समयमा उत्पादन लिन खोज्दा मौसम र बजार मूल्यमा आउने उतारचढावबाट हुने जोखिम कम गर्न सकिने उनको तर्क छ।

“एउटै समयमा सबै खेती लगाउँदा मौसम बिग्रिएको वा बजार मूल्य घटेको समयमा उत्पादन आयो भने ठूलो क्षति हुन सक्छ। फरक–फरक समयमा लगाउँदा कुनै एउटा लटमा समस्या आए पनि अन्य लटबाट लगानी सुरक्षित गर्न सकिन्छ,” उनले बताए।

भारतबाट आयात घटेपछि स्थानीय उत्पादनलाई राहत

गोलभेँडा खेतीमा बजार मूल्य प्रमुख चुनौती रहेको किसानहरूको अनुभव छ। छोटो समयमै बिग्रने भएकाले उत्पादनको समयमा उचित मूल्य नपाउँदा किसानलाई समस्या हुने गरेको अन्सारीले बताए।

उनका अनुसार विगतमा नेपाल–भारत खुला सीमाबाट ठूलो मात्रामा गोलभेँडा भित्रिँदा स्थानीय किसानले मूल्यमा थप दबाब सामना गर्नुपर्थ्यो। तर गत वर्षदेखि भारतबाट गोलभेँडा आयात घटेपछि स्थानीय उत्पादनले तुलनात्मक रूपमा राम्रो मूल्य पाएको उनको भनाइ छ।

उत्पादन लागत पनि बढ्दो

हरिवन नगरपालिका–२ का किसान मुखचन्द्र महतोका अनुसार उन्नत ‘कविता’ जातको गोलभेँडाको बीउ प्रतिप्याकेट करिब रु एक हजारदेखि एक हजार एक सयसम्म पर्छ।

बेर्ना तयार गर्नेदेखि खेत तयारी गरी रोप्दासम्म प्रतिकट्ठा १५ हजारदेखि २० हजार रुपैयाँसम्म खर्च हुने उनले बताए। मौसममा हुने परिवर्तन, शीतलहर तथा अन्य प्राकृतिक जोखिमका कारण लागत थप बढ्न सक्ने किसानहरूको भनाइ छ।

त्यसैगरी, रोपाइँको समयमा आवश्यक मलखाद सहज रूपमा उपलब्ध नहुँदा महँगोमा खरिद गर्नुपर्ने अवस्था आउने गरेको किसानहरूको गुनासो छ।

सर्लाहीमा दुई हजार हेक्टरमा व्यावसायिक खेती

नेपालमै गोलभेँडा उत्पादनका लागि परिचित सर्लाहीको हरिवन र लालबन्दी क्षेत्रमा करिब दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक गोलभेँडा खेती हुने गरेको छ।

यहाँ उत्पादित गोलभेँडा हेटौँडा, वीरगन्ज, जनकपुर, विराटनगर, बुटवल, भैरहवा, काठमाडौँ, पोखरालगायत देशका प्रमुख बजारमा पुग्ने गरेको छ। स्थानीय बजारमा बिक्री हुनुका साथै सस उद्योगलगायतका क्षेत्रमा पनि यहाँ उत्पादित गोलभेँडा खपत हुने गरेको छ।

स्थानीय कृषि थोक बजारको तथ्याङ्कअनुसार यस क्षेत्रमा वार्षिक १५ हजारदेखि २४ हजार मेट्रिक टनसम्म गोलभेँडा उत्पादन हुने गरेको छ।

वैदेशिक रोजगारीबाट फर्किएर आफ्नै गाउँमा व्यावसायिक कृषि रोजेका अन्सारीको अनुभवले बजार, मौसम र उत्पादन व्यवस्थापनको जोखिम हुँदाहुँदै पनि योजनाबद्ध रूपमा खेती गर्न सके कृषि आम्दानीको महत्वपूर्ण आधार बन्न सक्ने देखाएको छ।