कञ्चनपुर । दोधारा–चाँदनीलाई देशका अन्य भागसँग जोड्ने महाकाली नदीमाथि रहेको ऐतिहासिक दोधारा–चाँदनी झोलुङ्गे पुलमा क्षति पुगेको छ।
दोधारा–चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकका अनुसार पुलको दोधारा–चाँदनीतर्फको तेस्रो स्पानमा क्षति देखिएको हो। पुलमा क्षति पुग्नुको वास्तविक कारण भने अहिलेसम्म यकिन भइसकेको छैन। त्यसका लागि विस्तृत प्राविधिक निरीक्षण आवश्यक रहेको उहाँले बताउनुभयो।
पुलको एक भागमा क्षति देखिएपछि स्थानीय विपद् व्यवस्थापन संयन्त्रले पुलको अवस्थामाथि निगरानी बढाएको छ। जोखिमलाई ध्यानमा राख्दै सम्बन्धित निकायले पुलको क्षतिग्रस्त भागबाट आवतजावत गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले पुलको क्षतिग्रस्त भागबाट आवतजावत गर्दा सावधानी अपनाउन आग्रह गर्दै अवस्थाबारे सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने बताउनुभएको छ।
करिब डेढ किलोमिटर लामो यो झोलुङ्गे पुल दोधारा–चाँदनीका बासिन्दाका लागि लामो समयदेखि आवागमनको महत्वपूर्ण माध्यमका रूपमा रहँदै आएको छ।
पुल निर्माण हुनुअघि दोधारा–चाँदनीका स्थानीयवासीलाई महेन्द्रनगरलगायत नेपालका अन्य क्षेत्रमा आउजाउ गर्न भारतको बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो। विशेषगरी वर्षायाममा महाकाली नदीको बहाव बढ्दा स्थानीयवासीले किस्तीमार्फत नदी वारपार गर्नुपर्ने बाध्यता थियो।
करिब २०५८ सालतिर निर्माण भएको पुलले दोधारा–चाँदनीलाई नेपालको बाँकी भूभागसँग जोड्न महत्वपूर्ण भूमिका खेलेको स्थानीय बताउँछन्। पुल सञ्चालनमा आएपछि स्थानीयको दैनिक आवागमन सहज हुनुका साथै शिक्षा, स्वास्थ्य, व्यापार तथा सामाजिक सम्बन्ध विस्तारमा समेत सहयोग पुगेको थियो।
पछिल्लो समय महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएपछि ठूला सवारीसाधनको आवागमन सहज भएको छ। त्यसका बाबजुद झोलुङ्गे पुल भने पैदलयात्री तथा स्थानीय बासिन्दाको दैनिक आवागमनका लागि अझै महत्वपूर्ण रहेको स्थानीयको भनाइ छ।
पछिल्ला वर्षमा यो झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रूपमा समेत स्थापित हुँदै गएको छ। लामो दूरीमा फैलिएको पुल, महाकाली नदीको दृश्य तथा आसपासको प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक पर्यटकसमेत पुग्ने गरेका छन्।
पुलको एक भागमा क्षति देखिएपछि अहिले यसको वास्तविक अवस्था पत्ता लगाउन प्राविधिक परीक्षण आवश्यक देखिएको छ। सम्बन्धित निकायले प्राविधिक निरीक्षणपछि पुलको सुरक्षाको अवस्था र आवश्यक मर्मतसम्भारका विषयमा निर्णय गर्ने तयारी गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया