काठमाडौं । बैङ्किङ कसुर मुद्दामा रु २२ लाख बराबरको बिगो रहेका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ४० वर्षीय सन्तोष पाण्डे रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–३, धोबीघाट हाइटबाट पक्राउ गरेको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार पाण्डेविरुद्ध बैङ्किङ कसुरसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालत, भरतपुरबाट पक्राउ पुर्जी जारी भएको थियो।
अदालतबाट पक्राउ पुर्जी जारी भएपछि फरार रहेका पाण्डेको खोजी गर्ने क्रममा उनलाई धोबीघाट हाइट क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका पाण्डेलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवन पठाइएको छ।
बैङ्किङ कसुरसँग सम्बन्धित घटनामा प्रहरीले अदालतबाट पक्राउ पुर्जी जारी भएका फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया