तेहरान । तेहरानले हर्मुज जलमार्ग पुनः खोल्ने प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफ पर्खिरहेका बेला इरानले मध्यपूर्वमा रहेका अमेरिकी पूर्वाधारमाथि आक्रमण गर्ने चेतावनी दिएको छ ।
इरानका मुख्य वार्ताकार मोहम्मद बागेर गालिबाफले आफ्नो देशको सुरक्षा सुनिश्चित नगरिए मध्यपूर्वमा रहेका कुनै पनि अमेरिकी पूर्वाधार सुरक्षित नरहने बताए । उनले इरानले तेल बेच्न नपाउने अवस्था रहे अरूले पनि सो क्षेत्रमा तेल बेच्न नपाउने चेतावनी दिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलमार्ग पुनः खोल्ने प्रस्ताव अस्वीकार गरिसकेका छन् । यद्यपि, इरानी अधिकारीहरूले अमेरिकी पक्षबाट औपचारिक जवाफ आउने अपेक्षा गरेका छन् ।
इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले कतारी मध्यस्थकर्ताले इरानका प्रस्तावबारे अमेरिकी पक्षसँग पुनः छलफल गर्ने बताए । उनका अनुसार हालको ध्यान हर्मुज जलमार्ग पुनः खोल्ने विषयमा केन्द्रित रहेको छ ।
कतारका परराष्ट्र मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले दुवै पक्षबीच धेरै चरणमा बैठक तथा सन्देश आदानप्रदान भएको बताए । उनले पछिल्ला प्रयासहरू युद्धरत पक्षबीच साझा आधार निर्माणमा केन्द्रित रहेको बताए ।
इरानले हर्मुज जलमार्ग खोल्नका लागि मध्यपूर्वमा सात दिने युद्धविराम, विदेशमा रोक्का रहेका आफ्ना सम्पत्ति फुकुवा, तेल निर्यातमाथिको प्रतिबन्ध हटाउने तथा आफ्ना बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने माग अघि सारेको छ ।
यसैबीच, इरानको रिभोलुसनरी गार्डले हर्मुज जलमार्ग खुला रहेको अमेरिकी दाबी अस्वीकार गरेको छ । प्रवक्ता हुसेन मोहेबीले केही जहाजले गोप्य रूपमा तेल ढुवानी गर्दैमा जलमार्ग खुला भएको अर्थ नलाग्ने बताए ।
उनले पूर्ण रूपमा जलमार्ग खुलेको मान्न विगतमा जस्तै दैनिक ठूलो संख्यामा जहाज आवतजावत हुनुपर्ने र ठूलो परिमाणमा तेल तथा पेट्रोलियम पदार्थ ढुवानी हुनुपर्ने बताए ।
हर्मुज जलमार्गमा इरानको नियन्त्रणका कारण खाडी क्षेत्रका मुलुकहरूमा समेत गम्भीर असर परेको छ । कतारका प्रवक्ता अल अन्सारीले इरानी अधिकारीहरूले छिमेकी मुलुकलाई युद्धबाट टाढा राख्ने र गैरआक्रामकताको स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया