प्रतिनिधिसभा बैठक आज बस्दै, विभिन्न विधेयकमाथि छलफल हुने

40 Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस हुनेछन्।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, नेपाल कानुन आयोगको पहिलो संशोधन विधेयक र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको संक्रामक पशु रोग नियन्त्रण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यसैबीच, आज चार वटा संसदीय समितिको बैठक पनि बस्दैछ। अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।

समितिका बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा आवश्यक निर्णय प्रक्रिया अघि बढाइनेछ।