सङ्कटा मन्दिर परिसरमा ११३ जनाले गरे बसुन्धरा व्रत पूजा

18 Shares

काठमाडौं । लुमधी भद्रकाली महिला समूह (निशा पुचः)को आयोजनामा टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा बसुन्धरा व्रत पूजा गरिएको छ ।

सुस्वास्थ्य, सुख र शान्तिको कामनासहित प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन बसुन्धरा देवीको व्रत तथा पूजा गर्ने परम्परा रहेको सबलबहालका सिद्धिमुनि बज्राचार्यले जानकारी दिए ।

यो व्रत तथा पूजा बसुन्धरा र स्वयम्भूमा समेत गरिन्छ । तीनै स्थानमा सामूहिक रूपमा व्रत तथा पूजा गर्ने परम्परा रहेको छ । व्रतका क्रममा बसुन्धरा देवीको विशेष आराधना गरिन्छ ।

टेबहालस्थित सङ्कटा मन्दिर परिसरमा मंगलबार ११३ जना व्रतालुले पूजा तथा आराधना गरेको लुमधी भद्रकाली मन्दिरका पुजारी गणेशबहादुर महर्जनले जानकारी दिए । देश तथा पारिवारिक सुख, शान्तिको कामनाका लागि पनि यो व्रत तथा पूजा गर्ने प्रचलन रहेको उनले बताए ।

बसुन्धरा व्रतसँग एउटा किंवदन्तीसमेत जोडिएको छ । प्राचीनकालमा सुदर्शन नामका राजा थिए । उनका दुई श्रीमती थिए । कान्छी श्रीमतीको खराब भावना रहेको र राजा पनि उनको पक्षमा लागेर भोगविलासमा केन्द्रित हुँदा देशमा अनावृष्टि भएको किंवदन्तीमा उल्लेख छ ।

अनावृष्टिका कारण जनतामा हाहाकार मच्चियो र खान नपाउने अवस्था सिर्जना भयो । त्यसपछि जेठी रानीले बसुन्धरा देवीको व्रत बसी पूजा तथा आराधना गरेपछि वर्षा भएको विश्वास गरिन्छ ।

त्यसै समयदेखि प्रत्येक वर्ष आश्विन कृष्ण तृतीयाका दिन बसुन्धरा देवीको व्रत बसी पूजा, आराधना गर्ने र किंवदन्तीसम्बन्धी कथा सुन्ने परम्परा सुरु भएको मानिन्छ ।

आश्विन कृष्ण तृतीयाका दिन व्रत बसी पूजा तथा आराधना गरेपछि चतुर्थीका दिन बिहान सुन्धारामा गएर स्नान गरेपछि व्रत विधि पूरा हुने परम्परा छ ।

तर सुन्धारामा पानी आउन छाडेकाले बाल्टीमा पानी लगेर स्नान गर्नुपर्ने अवस्था रहेको भद्रकाली मन्दिरका पुजारी महर्जनले बताए ।