प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

56 Shares

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी नदीमा आएको बाढीले बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा क्षति पुर्‍याएको छ ।

तीन वटा पोखरीमध्ये बिरामीहरूले उपचारका लागि डुब्ने ठूलो र उपल्लो तातोपानीको पोखरीमा बाढी पसेर हिलो थुप्रिएको छ भने पर्यटकहरूका सञ्चालित सानो पोखरी बाढीले भत्काएको छ ।

कपडा परिवर्तन गर्ने भवन, तातोपानी भण्डारण गर्ने ट्याङ्की राखेका भवन र खुला स्नानस्थल माथिबाट खसेको पहिरोले भत्किएको र पुरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए ।

‘बाढी पहिरोले तातोपानी कुण्डका भौतिक संरचनाहरूमा क्षति पुर्‍याएकाले तत्कालका लागि स्नान गर्न सकिने अवस्था छैन, कुण्ड बन्द भएको छ,’ उनले भने, ‘पोखरीमा थुप्रिएको बाढी पन्छाएर तातोपानी कुण्ड सञ्चालनमा ल्याउने प्रयासमा छौँ।’

समितिको सोमबार बसेको बैठकले मङ्गलबारदेखि तातोपानीवासीहरूले श्रमदान गरेर पोखरीमा थुप्रिएको लेदो र हिलो पन्छाउने निर्णय गरेको सदस्य मीना जुग्जालीले बताइन् ।

पर्यटकीय र प्राकृतिक उपचारस्थलको रुपमा रहेको सिंगा तातोपानी कुण्डको संरक्षण र मर्मतका लागि नगरपालिका, प्रदेश र सङ्घीय सरकारबाट सहयोगको अपेक्षा गरेको उनले बताइन् ।

असोज–कात्तिक सिंगा तातोपानी कुण्ड स्नान गर्ने मुख्य याम हो । मुख्य याममा कुण्ड बन्द भएपछि तातोपानी बजार सुनसान बनेको छ । होटल, रेष्टुरेन्ट र होमस्टे व्यवसायीहरू निराश भएका छन् ।

वार्षिक २० हजार जनाभन्दा बढी नेपालका ७७ वटै जिल्ला र विदेशबाट समेत सर्वसाधारण प्राकृतिक उपचारका लागि आउने गरेका छन् । म्याग्दी नदीको किनारमा प्राकृतिक रुपमा वीर नुनको गन्ध आउने ५० डिग्री सेल्सियस तापक्रममा निस्कने तातोपानीलाई सङ्कलन गरेको पोखरीमा स्नान थिए ।

सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीका अनुसार वीर नुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वास छ । असोज–कात्तिक, मङ्सिर, पुस, माघ, फागुन, चैत र वैशाख महिना तातोपानी कुण्डमा स्नान गर्ने याम हो ।