बालेनको सम्बोधन उत्कृष्टको सूचीमा ! अन्तर्राष्ट्रिय मिडियाले के लेखे ? युट्युबमा पनि बालेनको भाषणलाई सर्वाधिक भ्यूज

57 Shares

काठमाडौँ । संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले गरेको सम्बोधन अन्तर्राष्ट्रियरुपमा समेत चर्चित बनिरहेको छ । सम्भवतः पहिलो पटक नेपालका प्रधानमन्त्रीले महासभामा बोलेका कुरालाई अन्तर्राष्ट्रिय मिडियाले स्पेस दिएका छन् ।

बालेनले अस्ति महासभाको सामान्य बहसमा सम्बोधन गरेका थिए । जलवायु न्यायका लागि बालेनले विश्व समुदायसमक्ष जोडदार अपिल गरे । उनको सम्बोधन नेपालभित्र प्रशंसित बनिरहेको छ । विपक्षी दलका नेताहरूले समेत तारिफ गरेका छन् ।

युट्युबमा पनि बालेनको सम्बोधनमा उच्च भ्यूज देखिन्छ । राष्ट्रसंघको आधिकारिक युट्युब च्यानलमा अपलोड गरिएका विश्व नेताहरूको भाषणमध्ये प्रधानमन्त्री बालेन शाहको भिडियो सबैभन्दा बढी हेरिएको छ । बालेनको भाषणले ४ लाख ७० हजारभन्दा बढी भ्यूज पार गरेको छ । भिडिओमा ४ हजार ६ सयभन्दा बढी कमेन्ट आएका छन् । यो नेपाली युवा नेतृत्वले विश्व मञ्चमा पाएको अभूतपूर्व डिजिटल समर्थन र क्रेज हो ।

दोस्रोमा इरानका राष्ट्रपति मसुद पेजेस्कियन छन् । उनको करिब २० मिनेटको सम्बोधन अहिलेसम्म ४ लाख १३ पटक हेरिएको छ । तेस्रो स्थानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प छन्, जसलाई ३ लाख ८३ हजारपटक हेरिएको छ ।

प्रधानमन्त्री शाहले आफ्नो सम्बोधनमा परम्परागत कूटनीतिक भाषाभन्दा माथि उठेर विश्व व्यवस्थाको दोहोरो मापदण्डमाथि कडा प्रहार गरेका थिए । उनले नेपालको विपत्तिलाई नेपालको मात्र समस्या बनाएर प्रस्तुत गरेनन् । भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढी र त्यसले निम्त्याएको मानवीय क्षतिलाई जलवायु परिवर्तनको विश्वव्यापी संकटसँग जोडे ।

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले नेपालको बाढीलाई जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी चेतावनीका रूपमा प्रस्तुत गर्‍यो । बेलायतको ‘द गार्जियन’ ले पनि यही पक्षलाई आफ्नो समाचारको मुख्य विषय बनायो ।

बालेनले विपत्तिपछिको पुनर्निर्माणका लागि नेपाललाई थप ऋणको भार बोकाउनुको सट्टा पर्याप्त अनुदान उपलब्ध गराउनुपर्ने माग गरे । जलवायु परिवर्तनमा न्यून योगदान गरेका नेपालजस्ता मुलुकले त्यसको क्षति बेहोर्न थप ऋण लिनुपर्ने अवस्था न्यायसंगत नहुने उनको तर्क थियो ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उनको सम्बोधनलाई यही विषयसँग जोडेर समाचार बनायो । जलवायु विपत्तिपछिको पुनर्निर्माणका लागि अनुदानमा आधारित अन्तर्राष्ट्रिय सहयोगको उनको मागलाई समाचारको मुख्य विषय बनाइएको थियो ।

बालेनको सम्बोधनको अर्को महत्त्वपूर्ण पक्ष नेपाल, भारत र चीनलाई समेटेर ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापना गर्ने प्रस्ताव थियो । हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेका जोखिमसँग जुध्न तीन देशबीच सहकार्य गर्ने उनको प्रस्ताव थियो ।

भारतको ‘द इन्डियन एक्सप्रेस’ ले बालेनको जलवायु कूटनीतिलाई भारतका लागि पनि महत्त्वपूर्ण विषयका रूपमा प्रस्तुत गरेको थियो । भारतीय सञ्चारमाध्यमले नेपाल–भारत–चीन सहकार्यको प्रस्तावलाई विशेष महत्त्व दिएका थिए।

बालेनको भाषणमा सबैभन्दा ध्यान खिच्ने अभिव्यक्तिमध्ये एउटा थियो-युद्धका लागि आवश्यक हतियार विश्वको जुनसुकै कुनामा सहजै पुग्ने व्यवस्था छ, तर किसानले आवश्यक समयमा मल र इन्धनसमेत पाउन सक्दैन ।

एनडीटीभीले उनको यही अभिव्यक्ति र विश्व व्यवस्थामाथिको आलोचनालाई प्रमुखताका साथ प्रस्तुत गरेको थियो ।

एनडीटीभी प्रोफिटको सूचीमा बालेन

भारतको प्रतिष्ठित व्यापारिक तथा आर्थिक समाचार च्यानल एनडीटीभी प्रोफिटले संयुक्त राष्ट्रसंघमा गरिएका प्रभावशाली भाषणहरूको संकलनमा बालेनको सम्बोधनलाई पनि समेटेको छ । उक्त च्यानलले यस वर्षको महासभामा प्रस्तुत गरिएका ५ वटा ‘सबैभन्दा शक्तिशाली भाषणहरू’ को सूचीमा नेपालका प्रधानमन्त्री शाहको सम्बोधनलाई पनि समावेश गरेको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज र इरानका राष्ट्रपति मसउद पेजेस्कियान यो सूचीमा छन् । जलवायु परिवर्तन, विकास, भूराजनीति र बहुपक्षीयतावादको भविष्यबारे विश्व मञ्चमा ध्यान आकर्षित गर्ने सिमित क्षण र भाषणहरूमध्ये बालेनको सम्बोधन अग्रपंक्तिमा परेको उल्लेख गरिएको छ ।