मध्यरातमा निवासबाट चोलेन्द्रलाई प्रहरी कार्यालय लगियो, पक्राउ हो कि सुरक्षा?

58 Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई प्रहरीले महाराजगन्जस्थित निवासबाट प्रहरी कार्यालयमा ल्याएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई आइतबार बिहान उज्यालो हुनुअघि नै निवासबाट कार्यालयमा ल्याएको हो ।

तर, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भने राणालाई पक्राउ नगरिएको दाबी गरेका छन् । उनका अनुसार राणामाथि भौतिक क्षति हुन सक्ने सूचना आएपछि सुरक्षाका लागि उनलाई प्रहरी कार्यालय ल्याइएको हो ।

‘हिजो राति उहाँलाई भौतिक हिसाबले क्षति पुर्‍याउने खालको गतिविधि हुन सक्छ भन्ने खालको सूचना आयो । त्यसपछि उहाँको सुरक्षाका लागि यहाँ ल्याइएको हो,’ एसएसपी खड्काले भने ।

उनका अनुसार राणालाई लिन प्रहरी राति करिब १२–१ बजेतिर महाराजगन्जस्थित निवास पुगेको थियो । त्यसपछि उनलाई करिब ३ बजेतिर प्रहरी कार्यालय ल्याइएको थियो ।

राणामाथि कोबाट सुरक्षा चुनौती थियो भन्नेबारे भने प्रहरीले खुलाएको छैन । ‘अहिले यो कुरा बाहिर बुझाउन सकिँदैन । जे होस्, तत्काललाई यहाँ ल्याएपछि सुरक्षा हुन्छ भनेर उहाँलाई ल्याइएको हो,’ खड्काले भने ।

यता, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेले राणालाई प्रहरी कार्यालय ल्याउनुको कारणबारे थप बताउन चाहेनन् । उनले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई पक्राउ गरेको बताए ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।