काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ। कांग्रेसले सामाजिक सञ्जालमार्फत महाधिवेशनको आधिकारिक नारा र लोगो सार्वजनिक गरेको हो।
कांग्रेसले महाधिवेशनका लागि ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस—अबको विकल्प’ भन्ने नारा तय गरेको छ।
सार्वजनिक गरिएको लोगोमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालादेखि सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मका नेताहरूको तस्बिर समेटिएको छ।
महाधिवेशनको लोगोमा पार्टीको ऐतिहासिक नेतृत्व र राजनीतिक यात्रालाई झल्काउने गरी विभिन्न नेताहरूका तस्बिर राखिएको कांग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंको खुलामञ्चमा आयोजना गर्ने तयारी गरिएको छ।
महाधिवेशनमार्फत पार्टीको आगामी राजनीतिक दिशा, संगठनात्मक रणनीति तथा नयाँ नेतृत्व चयनलगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया