साफ च्याम्पियनसिपमा नेपाललाई बाहिर राखेर खेल तालिका सार्वजनिक

10 Shares

काठमाडाैं । फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ।

साबिक विजेता भारतले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्ने भएकाे हाे । यो प्रतियोगिता बंगलादेशको राजधानी ढाकामा आगामी नोभेम्बर ५ तारिखदेखि शुरु हुने भएकाे छ। उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बंगलादेश र भुटानबीच भिड्ने भएका हुन्।

६ टोली सहभागी प्रतियोगिताको समूह चरणमा तीन खेल हुने भएका छन् । हरेक दिन दुई वटा खेल हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेश, भुटान-श्रीलंका तथा समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका हुन् । नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन ।

यद्यपि, सेप्टेम्बर ३० तारिखभित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको हाे ।