भोटेकोशी तटीय बस्तीको जोखिमबारे सांसद गजुरेलको ध्यानाकर्षण

19 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले भोटेकोशी नदीमा आउन सक्ने सम्भावित बाढीबाट सिन्धुपाल्चोकका तटीय बस्ती र नागरिकलाई जोगाउन समयमै जोखिम व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

रसुवा जिल्लामा भोटेकोशीले पुर्‍याएको क्षतिलाई स्मरण गर्दै सांसद गजुरेलले सिन्धुपाल्चोक हुँदै बग्ने भोटेकोशीमा पनि त्यस्तै प्रकृतिको बाढी आएमा नदी किनारका थुप्रै बस्ती प्रभावित हुन सक्ने बताएका हुन् ।

उनका अनुसार लिपिङ, कोदारी, तातोपानी, १० किलो, लार्चा, ड्राइपोर्ट, खुकुण्डोल, हिन्दी, डाक्लाङ, चाकु, नयाँपुल, सखुवा, बसेरी, जम्मु, बाह्रबिसे, ड्यामसाइट, लामोसाँघु, खाडीचौर, अधेरी, कोठे, बलेफी, भैंसे, सुकुटे, चेहेरे, सिम्ले, बन्देउ हुँदै दोलालघाटसम्मका तटीय क्षेत्र जोखिममा पर्न सक्ने छन् ।

सांसद गजुरेलले नेपालका धेरै बस्ती बाढी तथा पहिरोको जोखिममा रहेको उल्लेख गर्दै सम्भावित विपद्को क्षति न्यूनीकरणका लागि बस्ती व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘बेलैमा व्यवस्थापन गर्न नसके आगामी दिनमा ठूला–ठूला क्षति व्यहोर्नुपर्ने हुन्छ। बस्ती व्यवस्थापन अब हाम्रो प्राथमिकता हुनुपर्छ ।’

रसुवा र तातोपानीको सुक्खा बन्दरगाहमा काम गर्ने क्रममा आफूले यी क्षेत्रहरूमा धेरै पटक यात्रा गरेको पनि गजुरेलले उल्लेख गरेका छन् ।