चाडपर्व नजिकिंदै गर्दा मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको एमालेको ठहर

18 Shares

काठमाडौं । नेकपा एमालेले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार असफल भएको जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले बुधबार एक प्रेस नोट जारी गर्दै जनतालाई राहत दिनुको सट्टा सरकार आफ्नो असफलता र कमजोरी ढाकछोप गर्न विषयान्तरको राजनीति गरिरहेको आरोप लगाउनुभएकाे हाे। प्रमुख आचार्यले दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा व्यवस्थापन र कालोबजारी नियन्त्रणमा सरकार असफल भएको दावी गर्नुभएकाे छ। उहाँले नेपालीहरूका साँस्कृतिक चाडपर्वहरू नजिकिँदै गर्दा जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि भइरहेको बताउनुभयाे।

प्रमुख आचार्यले ग्यासको सहज आपूर्ति र व्यवस्थापन गर्न नसकेर सरकारले जनतालाई सास्ती दिइरहेको आरोप लगाउनुभएकाे छ। सरकारले एमालेविरुद्ध दुष्प्रचार गरेकाे समेत बताउनुभयाे । ललितपुरका एक पौडेल थरका व्यापारीलाई एमाले केन्द्रीय सदस्यको ‘कृत्रिम परिचय’ दिँदै ग्यास लुकाएको आरोप लगाएर पार्टीलाई बदनाम गर्ने प्रयास भएको उहाँकाे दावी छ।

प्रमुख आचार्यले सरकार संरक्षित राजनीतिक दलका कार्यकर्ताले सामाजिक सञ्जालको दुरुपयोग गर्दै भ्रम फैलाउने र साइबर बुलिङ गर्ने तथा सामाजिक सद्भाव भड्काउने गतिविधि गरेको आरोप समेत लगाउनुभयाे। सरकारको असफलता र जनताको समस्याबाट ध्यान मोड्न यस्ता गतिविधि भइरहेको दावी गर्दै एमालेले त्यसको भर्त्सना गरेकाे छ।

भ्रम र दुष्प्रचारको राजनीति लामो समय नचल्ने उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्री तथा त्यसमा संलग्न व्यक्तिको विवरण प्रमाणसहित सार्वजनिक गर्दै जाने समेत एमालेले चेतावनी दिएकाे हाे। ‘जनतालाई भ्रमित पार्ने होइन, आफ्ना कमजोरीको जवाफ दिने साहस गर’ गर्न सरकारलाई एमालेले चुनाैती दिएकाे छ।