सशस्त्र प्रहरीद्वारा पशुपतिमा स्वास्थ्य, खानेपानी र सुरक्षासहित ८ सय जनशक्ति परिचालन

11 Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले हरितालिका तीज पर्वको अवसरमा साेमबार पशुपतिनाथ मन्दिर क्षेत्रमा स्वास्थ्य, खानेपानी र सुरक्षासहित करिब ८ सय जनशक्ति परिचालन गरेको छ।

साेमबार बिहान २ बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन, शान्तिसुरक्षा र स्वास्थ्य लगायतको लागि सुरक्षाकर्मी परिचालन गरिएको हो । मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्ससहितको मेडिकल टोली तैनाथ गरिएको छ। त्यस्तै, प्रधान कार्यालयबाट खानेपानीको लागि ट्यांकरसहितको टोली पनि आइतबार रातिदेखि नै खटाइएको छ ।

त्यसैगरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारमा गोताखोरसहितको उद्दार टोली समेत तयारी अवस्थामा राखिएको हाे। सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । मन्दिर वरिपरिका क्षेत्रहरू तिलगंगा, जय बागेश्वरी, गुह्येश्वरी मन्दिर, बिश्वरुपा मन्दिर र गौरिघाट लगायतको क्षेत्रमा शान्तिसुरक्षाका लागि गस्ती बढाइएको हाे ।

आवश्यक समन्वयको लागि मन्दिर परिसरमा कमाण्डपोस्ट स्थापना गरिएको छ ।