काठमाडौं । पछिल्लो १२ दिनदेखि पहिरो र सडक मर्मतका कारण ठप्प बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा आज परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ ।
सडक निर्माण टोलीले सबग्रेड तहसम्मको काम सकेपछि सडकको अवस्था जाँच्न काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ग्यास बुलेट र लामो समयदेखि रोकिएका हेभी सवारीसाधनलाई सफलतापूर्वक पार गराएको हो ।
सडक विभाग, प्राविधिक टोली, स्थानीय प्रशासन र निर्माण व्यवसायीको निरन्तर प्रयासपछि कृष्णभीरको सडक यातायात परीक्षण गर्ने स्थितिमा आइपुगेको नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीले जानकारी दिइन् । उनका अनुसार सडकको अवस्था परीक्षण गर्न पठाइएको ग्यास बुलेट सजिलै पार भएपछि विगत १५ दिनदेखि रोकिएर बसेका ट्रक, टिपर लगायतका हेभी इक्युपमेन्टहरूलाई पनि पालैपालो गन्तव्यतर्फ पठाइएको छ ।
अहिले पार गराइएका सवारीसाधन रोकिएका हेभी गाडीहरू मात्र हुन्, जसका कारण सडक पूर्ण रूपमा खुला भएको भने मान्न सकिँदैन । कृष्णभीरमा अझै ड्रेन निर्माण, सब–सर्फेस ड्रेन, ग्राभेलिङ र केही भागमा पहाड कटिङको काम बाँकी छ । परीक्षण सकिनासाथ बाँकी निर्माण कार्यलाई तीव्रता दिन सडक पुन: केही समयका लागि बन्द गरेर काम अघि बढाइने योजना प्रमुख अधिकारीको भनाइ छ ।
फिल्डमा सडक बनाउन २५ भन्दा बढी डोजर, एक्स्काभेटर र ३० जनाभन्दा बढी प्राविधिकहरू अहोरात्र खटिरहेका छन् । निर्माणको जिम्मा पाएको सगुन कन्स्ट्रक्सनका सञ्चालक तथा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काका अनुसार मौसमले साथ दिएमा आगामी दुई–तीन दिनभित्र बाँकी काम सकेर असोज १ गतेदेखि नै यो खण्डमा नियमित रूपमा गाडी गुडाउने लक्ष्य राखिएको छ ।
राजमार्गको मुख्य बाधक मानिने कृष्णभीरमा एकतर्फी भए पनि गाडी पार हुन थालेपछि बीच बाटोमै रोकिएका हजारौँ यात्रु, ग्यास बुलेट र खाद्यान्न बोकेका गाडी चालकहरूले ठूलो राहतको सास फेरेका छन् । बाँकी काम सम्पन्न भएपछि यो खण्डमा दुवैतर्फका गाडीहरू निर्वाध रूपमा सञ्चालन हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया