उपत्यकामा वैकल्पिक बाटोबाट दैनिक ४० हजार ग्यास सिलिन्डर भित्र्याइँदै

56 Shares

काठमाडौं । कृष्णभीरमा गएको पहिरोका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्ग प्रयोग ल्याइरहेको आयल निमले जानकारी दिएको छ । काठमाडौँ उपत्यकालगायत आसपासका क्षेत्रमा दैनिक औसत ४० हजार सिलिन्डर एलपी ग्यास आपूर्ति गरिरहेको छ निमगले बताएको छ ।

भदौ २८ गतेसम्ममा पर्याप्त परिमाणमा ग्यास आयात भइसकेकाले उपभोक्तालाई अनावश्यक सञ्चय नगर्न निगमले आग्रह गरेको छ ।

आयात र वैकल्पिक वितरणको अवस्था निगमका अनुसार भदौ २८ गतेसम्म देशभर ५२ हजार ७३७ मेट्रिक टन (करिब ३७ लाख १३ हजार ८९४ सिलिन्डर बराबर) एलपी ग्यास आयात भइसकेको निगमले बताएको छ ।

यस्तै, इन्डियन आयल कर्पोरेसन (आईओसी) का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट सेप्टेम्बर १० सम्ममा थप १९ हजार २१८ मेट्रिक टन ग्यास लोड भइसकेको अवस्था छ ।

मुख्य राजमार्ग बन्द भएपछि निगमले तराईका उद्योगहरूमा ग्यास रिफिल गरी त्रिभुवन राजपथ र बीपी राजमार्ग हुँदै काठमाडौँ भित्र्याउने व्यवस्था मिलाएको बताएको छ । भदौ १८ देखि २७ गतेसम्मको अवधिमा यी वैकल्पिक मार्गबाट ३ लाख ९९ हजार ५२९ सिलिन्डर ग्यास ल्याएर उपभोक्तालाई वितरण गरिसकिएको निगमले जनाएको छ ।

प्रभावित क्षेत्रलाई प्राथमिकता र सडक खुलाउने प्रयास भदौ १० गतेको विनासकारी बाढीबाट प्रत्यक्ष प्रभावित बनेका रसुवा, नुवाकोट र धादिङ जिल्लाका सर्वसाधारणलाई प्राथमिकतामा राखेर ग्यास वितरण समन्वय गरिएको छ ।

यसैगरी, गृह मन्त्रालयलगायतका निकायहरूसँगको समन्वयमा कृष्णभीरको बाटो खुलाउने काम भइरहेको छ । बाटो सञ्चालनमा आउनासाथ नियमित रूपमा ग्यास बुलेटहरू आउने र काठमाडौँका उद्योगहरूले आफ्नै प्लान्टबाट ग्यास रिफिल गरी बजारमा पठाउने भएकाले आपूर्ति अवस्था थप सहज हुँदै जाने निगमको भनाइ छ ।

‘अनुगमनका क्रममा लुकाइएको पाइएका करिब १,२०० सिलिन्डर जफत गरी उपभोक्तालाई वितरण गरिएको छ भने अनियमितता गर्ने विक्रेताहरूलाई दण्ड–जरिवानासमेत गराइएको छ । ग्यास बिक्री वितरणलाई पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली विकास गर्ने पहलसमेत भइरहेको छ ।’, निगमले भनेको छ ।

खपत तुलना र उपभोक्तालाई अपिल निगमको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ग्यासको बिक्री दर बढेको निगमले बताएको छ । गत वर्षको भदौ महिनामा ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएकोमा यस वर्षको भदौ २७ गतेसम्ममै ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भइसकेको निगमको भनाई छ ।।

यस्तै, २०८२ असारमा ३३ लाख ७५ हजार ५९५ र साउनमा ३१ लाख २१ हजार ४८ सिलिन्डर बिक्री भएकोमा २०८३ असारमा ३१ लाख ३६ हजार ९३७ र साउनमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको निगमको भनाई छ ।