काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले मधेश प्रदेशको भ्रमणका क्रममा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायबाट प्राप्त सुझाव तथा अनुभवलाई आगामी शिक्षा ऐन र राष्ट्रिय पाठ्यक्रम निर्माणमा समेटिने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पोखरेलले भदौ २६ गते धनुषाबाट सुरु भएको मधेश यात्रा शुक्रबार राति सप्तरीस्थित महावीर माध्यमिक विद्यालयमा पुगेर सम्पन्न भएको जानकारी दिएका हुन् । अब पूर्वाञ्चल विश्वविद्यालयको भ्रमणपछि काठमाडौं फर्किने कार्यक्रम रहेको उनले उल्लेख गरेका छन् ।
मधेश भ्रमणका क्रममा काठमाडौंमा बसेर नसुनिएका धेरै शैक्षिक समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्न पाएको मन्त्री पोखरेलको भनाइ छ । उनले कक्षाकोठादेखि समुदायसम्मबाट संकलित अनुभवले शिक्षा सम्बन्धी कानुन र नयाँ राष्ट्रिय पाठ्यक्रम निर्माणमा ठोस सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यात्राका क्रममा मधेशमा गुणस्तरीय इन्जिनियरिङ शिक्षाको आवश्यकता अत्यधिक रहेको विषय स्पष्ट रूपमा बुझ्न पाएको उनले बताएका छन् । कृषि शिक्षा तथा कृषि कलेजको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण रहेको अनुभव आफूले गरेको उनको भनाइ छ । साथै, बर्दिबासमा प्रस्तावित मेडिकल कलेजको स्थलमा पुगेर स्थानीयसँग अन्तरक्रिया गर्ने अवसर समेत प्राप्त भएको उनले उल्लेख गरेका छन् ।
मन्त्री पोखरेलले अब संकलित सुझाव, अनुभव र आवाजलाई तथ्य र प्रमाणमा आधारित दस्तावेजका रूपमा तयार गरिने बताएका छन् । वास्तविक समस्या र आवश्यकता बुझेर नीति निर्माण गर्नुपर्ने मान्यताअनुसार मन्त्रालय अघि बढिरहेको उनको भनाइ छ ।
मधेश यात्रामा सहयोग गर्ने जनप्रतिनिधि, मन्त्रालयका कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक, समुदायका प्रतिनिधि तथा मधेशवासीप्रति धन्यवाद व्यक्त गर्दै मन्त्री पोखरेलले मधेशबाट प्राप्त आवाजलाई अब नीतिमा समेट्ने जिम्मेवारी सरकारको रहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया