जेनजी शहीद परिवारले न्याय कहिले पाउने ? एमाले सांसद खातुन

10 Shares

काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले जेनजी शहीदको बलिदानलाई राजनीतिक स्वार्थको विषय नबनाउन सरकारलाई आग्रह गर्नुभएको छ ।

विहीवार बसेको प्रतिनिधिसभाको बैठकमा उहाँले जेनजी आन्दोलनका क्रममा भएको क्षति र शहीद परिवारको अवस्थाप्रति राज्य जवाफदेही बन्नुपर्ने बताउनुभयो ।

 

उहाँले आन्दोलनको एक वर्ष बितिसक्दा पनि शहीद परिवार पीडामा रहेको बताउनुभयो । शहीद परिवारले न्याय कहिले पाउने उहाँको प्रश्न छ ।

सांसद खातुनले आन्दोलनका क्रममा युवाहरूको मागलाई वर्तमान सरकारले सम्बोधन गर्न नसकेको बताउनुभयो ।

आन्दोलनका कारण ध्वस्त भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षतिपूर्ति कसले व्यहोर्ने भन्ने विषयमा समेत सरकारले स्पष्ट गर्नुपर्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ‘शहीदको रगतमा राजनीति गर्न पाइँदैन। जसको भूमिका प्रमाणित हुन्छ उसले पदबाट राजीनामा मात्र होइन, पहिला जवाफदेहिता रोज्नुपर्छ। हामीले आन्दोलनको माग सुन्यौँ, युवाहरूको आक्रोश सुन्यौँ, तर एक वर्षपछि पनि शहीद परिवारको आँखामा आँसु छ। मनभरि पीडा छ। शहीद परिवारले न्याय कहिले पाउने सरकार? यसको उत्तर पनि तपाईँसँग छ। सरकार, खरानी बनेको देशलाई कहिले सुन्दर बनाउने? अनि व्यक्तिको सम्पत्ति ध्वस्त छ, त्यसको हर्जाना राज्यले दिने हो कि विभिन्न दोषी समूहले दिने हो? पीडितले माग गर्न थालेका छन् सम्माननीय सभामुख महोदय। शहीदको बलिदान राजनीतिक स्वार्थको विषय होइन, यो राज्यको जवाफदेहिताको विषय पनि हो। हाम्रो बालबालिका तथा युवाहरूलाई अभिमन्युको चक्रव्यूहमा पठाएर बाहिरबाट तमासा हेर्ने राजनीति अब बन्द गर्नुहोस् ।’

उहाँले शहीदको बलिदानलाई राजनीतिक स्वार्थका लागि प्रयोग नगर्न आग्रह गर्दै राज्यले पीडित परिवारको माग सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद खातुनले बालबालिका तथा युवाहरूलाई जोखिममा पारेर बाहिरबाट तमासा हेर्ने राजनीतिक प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभयो । युवाहरूको बलिदान र आन्दोलनबाट उठेका प्रश्नको दीर्घकालीन समाधान खोज्न सरकार गम्भीर बन्नुपर्ने उहाँको भनाई छ ।