नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना नहाेस्: पूर्वप्रधानमन्त्री कार्की

21 Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले नागरिक फेरि सडकमा आउनुपर्ने अवस्था सिर्जना हुन नहुने र यसका लागि सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभएको छ।

जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत उहाँले राजनीतिक स्थायित्व संसदीय गणितले नभई शासकको चरित्र र कार्यशैलीले निर्धारण गर्ने उल्लेख गर्नुभएको हाे। सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिकको सम्मान सुनिश्चित गर्न सरकारले प्रभावकारी काम गर्नुपर्नेमा उहाँको जोड छ । नवयुवा आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै कार्कीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयाे।

आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति हुनुका साथै कैयौं राष्ट्रिय सम्पदा र धरोहर गुमेको बताउँदै उहाँले यी चोटका घाउ सायदै कहिल्यै पुरिने बताउनुभएको छ । नवयुवा आन्दोलनबाट भएको जनधनको क्षतिको एक वर्ष नबित्दै अहिले भोटेकोशी बाढीको अर्को पीडा थपेको र यो बेला धैर्य, जिम्मेवारी र एकताका साथ प्रस्तुत हुन उहाँले सबैलाई आह्वान गर्नुभयाे ।

गत वर्षकाे भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ । यहि भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।