रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

14 Shares

काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ र उनका नवजात शिशुको हवाई उद्धार गरिएको छ ।

गत्लाङ स्वास्थ्य चौकीमा बच्चा जन्माएपछि आमा र नवजात शिशु दुवैमा जटिल स्वास्थ्य समस्या देखिएपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ल्याइएको हो ।

भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण आमाछोदिङमो गाउँपालिका यातायात सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको अवस्थामा सडकमार्गबाट तत्काल स्वास्थ्य संस्थासम्म पुर्‍याउन सम्भव नभएपछि हवाई उद्धार गरिएको हो ।

सरकारले गत भदौमा स्वीकृत गरेको कार्यविधिमा बाढी तथा पहिरोका कारण सडक सञ्जाल अवरुद्ध भई विशेष परिस्थिति सिर्जना भएमा दुर्गम भौगोलिक क्षेत्रबाट ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला र २४ घण्टाभित्रका नवजात शिशुलाई हवाई उद्धार गरी सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सकिने व्यवस्था गरेको छ ।

सोही व्यवस्थाअनुसार आमा र नवजात शिशुको जीवनरक्षाका लागि तत्काल हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको मन्त्रालयले जनाएको छ ।

उद्धार कार्यमा समन्वय तथा सहजीकरण गर्ने स्थानीय जनप्रतिनिधि, स्वास्थ्य शाखाका कर्मचारी तथा सम्बन्धित स्वास्थ्यकर्मीप्रति महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले धन्यवाद व्यक्त गरेको छ ।