एजेन्सी । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चर्नविराकुलले विश्वव्यापी लगानीकर्ताहरूलाई थाइल्याण्डलाई केवल उत्पादन स्थल वा विक्री बजारका रूपमा मात्र नहेरी एक ‘साझेदार’का रूपमा आत्मसात गर्न आग्रह गरेका छन् ।
आगामी महिना आयोजना हुने अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ० र विश्व बैंक समूहको वार्षिक बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
बैंकक बिजनेस समिटमा बिहीवार मुख्य सम्बोधन गर्दै प्रधानमन्त्री चर्नविराकुलले थाइल्याण्डको औद्योगिक गहिराइ, क्षेत्रीय आवद्धता र विभिन्न क्षेत्रहरूलाई एकीकृत गर्ने क्षमता नै देशको मुख्य प्रतिष्पर्धात्मक लाभ भएको बताए । उनले थाइल्याण्ड विश्वव्यापी प्रतिभाहरू फस्टाउन सक्ने उपयुक्त गन्तव्य भएको समेत उल्लेख गरे ।
सम्मेलनमा सहभागी प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले भने, ‘थाइल्याण्डमा मात्र निर्माण नगर्नुहोस्, थाइल्याण्डसँगै मिलेर निर्माण गर्नुहोस् ।’
प्रधानमन्त्रीले वैदेशिक लगानीकर्ताहरूका लागि व्यावसायिक वातावरण सहज, पारदर्शी र अनुमानयोग्य बनाउनु सरकारको मुख्य जिम्मेवारी भएको बताए । यसका लागि स्पष्ट कानूनी व्यवस्था, द्रुत निर्णय प्रक्रिया, भरपर्दो पूर्वाधार, स्वच्छ ऊर्जा र डिजिटल क्षमतामा पहुँच सुनिश्चित गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
सोही लक्ष्य प्राप्तिका लागि सरकारले हाल ७ हजार भन्दा बढी सहायक नियम तथा कानूनहरूको पुनरावलोकन गरिरहेको जानकारी उनले दिए । अनावश्यक बोझका रूपमा रहेका यस्ता नियमहरू हटाउँदा सर्वसाधारण र व्यवसायीहरूलाई कार्यसम्पादनमा सहजता मिल्ने सरकारको विश्वास छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया