रसुवा बाढी अपडेट: मृतककाे संख्या १ हजार ६८ पुग्याे, साढे ४ हजार बढी सम्पर्कविहीन

12 Shares

काठमाडौं । रसुवाकाे भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाको एक हजार ६८ वटा शव फेला परेका छ।

प्रहरी प्रधान कार्यालय नक्सालले बाढीमा परी अझै चार हजार ६०६ जना सम्पर्कविहीन रहेकाे जनाएको हाे। मंगलबारसम्म फेला परेका शवमध्ये ३० बालक, ३५ बालिका, २३२ महिला, ३७१ पुरुष र ४०० जना आंशिक अङ्गसहितका रहेका छन् ।  प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेले उद्धार गरिएकामध्ये तीन हजार ४५३ जनालाई होल्डिङ सेन्टरमा राखिएको छ । नुवाकोटमा दुई हजार ४६६, धादिङमा २६०, रसुवामा ३९८ र काठमाडौंमा ३२९ जना होल्डिङ सेन्टरमा रहेकाे बताउनुभयाे ।

बाढीपछि उद्धार गरिएकामध्ये तीन हजार २१४ पुरुष, एक हजार ५३० महिला र पहिचान नखुलेका १४ जना रहेका छन् । बाढीपछि उद्धार कार्यलाई तीव्र बनाइए पनि अझै मानिस सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको हाे। प्रहरीका अनुसार बाढीमा परी मृत्यु भएका तथा फेला परेका शवको व्यवस्थापन समेत भइरहेको छ । हालसम्म ५८ वटा शव सम्बन्धित परिवार तथा आफन्तलाई हस्तान्तरण गरिएको हाे। प्रवक्ता काफ्लेका अनुसार शवको पहिचान तथा व्यवस्थापनको प्रक्रिया पनि सँगसँगै अघि बढाइएको छ ।

सम्पर्कविहीनको विवरणमा दुई हजार ३१५ स्वदेशी पुरुष, ३६८ स्वदेशी महिला, २५१ विदेशी पुरुष, ३३० विदेशी महिला, अन्य दुई र फोनबाट टिपाइएका एक हजार ३४० गरी ४ हजार ६०६ जना रहेका प्रहरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयाे । बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, शव व्यवस्थापन तथा सम्पर्कविहीनको विवरण संकलनलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ । भोटेकोशीमा आएको आकस्मिक बाढीबाट रसुवासहित नुवाकोट र धादिङ लगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको हाे ।

बाढीपछि विभिन्न सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सम्बन्धित निकायको समन्वयमा उद्धार, राहत तथा प्रभावितको व्यवस्थापन कार्य सञ्चालन भइरहेको छ ।