रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको छः झलनाथ खनाल

16 Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएको आरोप लगाउनुभएको छ ।

पार्टीको कोशी प्रदेश समितिले आज आयोजना गरेको पार्टी एकता तथा प्रशिक्षण कार्यक्रममा उहाँले दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिले नै नेपालको सत्ता कब्जा गरेको आरोप लगाउनुभएको हो ।

 

२०६२/६३ को परिवर्तनपछि नेपाली काँग्रेस दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा रहेकोमा अहिले रास्वपा त्यस्तो शक्तिका रूपमा अघि आएको उहाँको दाबी छ ।

उहाँले कम्युनिष्ट पार्टीको मुख्य वर्गशत्रु नै अब रास्वपा रहेको बताउनुभयो । उहाँले वर्तमान सत्ता जनविरोधी दिशामा अघि बढिरहेको पनि आरोप लगाउनुभयो ।

सरकारले ल्याएको नीति, कार्यक्रम र बजेटले आम जनता तथा तल्लो वर्गको हित नगरेको उहाँको आरोप छ । सरकारका आर्थिक नीतिहरू माथिल्लो वर्गको हितमा केन्द्रित रहेको उहाँले दाबी गर्नुभयो ।

उहाँले पछिल्लो निर्वाचनमा कम्युनिस्ट शक्तिले व्यहोरेको पराजय सामान्य हार नभएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीका नेतृत्वले विगतमा गरेका कमजोरीका कारण सर्मनाक हार व्यहोर्नुपरेको बताउनुभयो ।

बाह्य शक्तिको प्रभाव भएपनि त्यसलाई गौण कारणका रूपमा मात्रै हेर्नुपर्ने उहाँको भनाई छ । उहाँले विगतमा कम्युनिस्ट पार्टीसँग जोडिएका ठूलो संख्याका कार्यकर्ता तथा समर्थकमा राजनीतिक नेतृत्वप्रति व्यापक असन्तुष्टि बढेको बताउनुभयो ।

विदेशिएका श्रमिक र असन्तुष्ट जनतालाई विभिन्न शक्तिले आफ्नो पक्षमा परिचालन गरेको आरोप लगाउनुभयो । उहाँले वर्तमान सरकारले जनताको हितमा कुनै काम गर्न नसक्ने पनि बताउनुभयो ।

वर्तमान सरकारका नीतिका कारण सुकुम्बासी, विद्यार्थी, मजदुर तथा पत्रकार समस्यामा परेको उहाँको तर्क छ ।

उहाँले भन्नुभयो, ‘हिजो राजतन्त्र रहुञ्जेल हामी मुख्य शत्रु नै भन्थ्यौं । अब अहिले यो संसदीय व्यवस्था छ । संसदीय व्यवस्था भएको हुनाले हामीले मुख्य शत्रु भन्नुभन्दा पनि मुख्य प्रतिद्वन्द्वी भन्छौं, हिजो नेपाली काँग्रेस थियो एकबेलामा । खासगरी अब ६२/६३ को परिवर्तनपछिको अवधिमा मुख्य दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि हुन्थ्यो । अहिले त्योभन्दा बढी रास्वपा दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि भएर प्रकट भएको छ र सत्ता उसको हातमा छ । उसले व्यापक दमन–मर्दन सुरु गरेको छ । उसले जुन नीति कार्यक्रम ल्यायो, त्यसले आम जनता, तल्लो वर्गका जनताको हितमा एउटा पनि छैन, नीति । सबै माथिल्लो वर्गको हितमा ल्याएको छ । बजेट ल्यायो, जम्मै माथिल्लो वर्गको हितमा ल्याएको छ । यी कर भारहरु हेर्नुस्, यति धेरै कर भारहरु अहिले जनतामाथि थोपरिएको छ, त्यो माथिल्लो वर्गको हितमा मात्रै छ । त्यसो हुनाले यतिबेलाको अवस्थामा वर्गीय रुपले यो मुख्य प्रतिद्वन्द्वी शक्तिको रुपमा चाहिँ हाम्रासामु आएको छ ।’

उहाँले सबै कम्युनिस्ट शक्तिहरु एकतावद्ध भएर नयाँ ढंगले समाजवादी क्रान्ति तथा रूपान्तरणको आन्दोलन अघि बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । विगतका कमी कमजोरी सच्याएर अगाडी बढेमा कम्युनिष्ट पार्टीले सफलता हासिल गर्ने उहाँको भनाई छ ।