ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको काँग्रेसको आरोप

नेपाल आयल निगमको आयात, भण्डारण र वितरण व्यवस्थापनमा देखिएका कमजोरी तत्काल सुधार गर्न आग्रह

10 Shares

नेपाली काँग्रेसले ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको आरोप लगाएको छ । काँग्रेस केन्द्रिय समितिको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले खाना पकाउने ग्यास तथा अत्यावश्यक वस्तुको नियमित आपूर्ति गर्न सरकार असफल भएको आरोप लगाउनु भएको हो । नेपाल आयल निगमको आयात, भण्डारण र वितरण व्यवस्थापनमा देखिएका कमजोरी तत्काल सुधार गर्न उहाँले सरकारलाई आग्रह गर्नुभएको छ । काँग्रेसले दाल, चामल, खानेतेललगायत दैनिक उपभोग्य वस्तुको अस्वाभाविक मूल्यवृद्धि र बजारमा देखिएको अभाव नियन्त्रण गर्न प्रभावकारी बजार अनुगमन गर्न माग गरेको छ । कृत्रिम अभाव र कालोबजारी नियन्त्रणका लागि स्पष्ट कार्ययोजना तत्काल लागू गर्न पनि पार्टीले माग गरेको प्रवक्ता चालिसेले जानकारी दिनुभयो । किसानलाई खेतीको समयमा मल र बीउ उपलब्ध गराउने प्रतिबद्धता सरकारले पूरा नगरेको काँग्रेसको आरोप छ । मल खरिदका लागि किसान सीमावर्ती क्षेत्रमा जानुपर्ने र त्यहाँ कुटपिट, थुनछेक तथा लुटपाटजस्ता समस्या भोग्नुपरेको भन्दै कांग्रेसले सरकारलाई किसान तथा सीमावर्ती क्षेत्रका नागरिकप्रति उत्तरदायी बन्न आग्रह गरेको छ । बिउमा लगाएको भ्याट हटाउनुपर्ने मागसमेत कांग्रेसले दोहो¥याएको छ । जलविद्युत् उत्पादनमा धनी मुलुकमा विद्युत् खपत बढाउनुपर्नेमा सरकारले उल्टै भ्याट थपेर विद्युत् उपभोगलाई निरुत्साहित गरेको काँग्रेस प्रवक्ता चालिसेले बताउनु भयो ।