काठमाडौं — दीपमाला ढकालले मिस नेपालको उपाधि जित्दै इतिहास रचेकी छन्। उनी मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) हुन्। हाल उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’का रूपमा कार्यरत छिन्।
उनले यसपटक तीन महत्वपूर्ण कीर्तिमान पनि कायम गरिन्। पहिलो, मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनिन्। दोस्रो, मिस नेपाल हङकङ (डायस्पोरा) को उपाधि जितेपछि लगातार मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो प्रतियोगी बनिन्। तेस्रो, ग्रान्ड फिनालेमा मिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पस गरी चार सहविधा जित्ने पहिलो प्रतियोगी बनिन्।
हङकङमा जन्मिएर हुर्किएकी दीपमालाको मिस नेपालको यात्रा उनकी आमा रोशनीसँग पनि जोडिएको छ। रोशनीले सन् १९९४ मा मिस नेपालमा प्रतिस्पर्धा गरेकी थिइन्, र आमाको अधुरो सपना छोरीले पूरा गरेकी छन्।
दीपमालाको जितलाई गैरआवासीय नेपाली संघले पनि ऐतिहासिक उपलब्धिका रूपमा स्वागत गरेको छ। एनआरएनए उपाध्यक्ष रोजिना प्रधानले यसलाई गैरआवासीय नेपाली समुदायका लागि गौरवको विषय भएको बताएकी छन्।
अब दीपमालाले आगामी मिस वर्ल्ड प्रतियोगिताको तयारी गर्नेछिन्। साथै, मिस नेपाल इन्टरनेसनल आर्या निशान्त जापानमा हुने मिस इन्टरनेसनल र मिस नेपाल कस्मो कशिश सुब्बा भियतनाममा हुने मिस कस्मो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया