परिणाममुखी ढंगले कामका लागि युवा लक्षित रोजगारी र स्वयंसेवा कार्यक्रम विस्तार गर्न कृषिमन्त्री चौधरीको निर्देशन

16 Shares

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई युवाका लागि रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवाका अवसर विस्तार गर्दै परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिनुभएकाे छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा शुक्रबार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), दुग्ध विकास संस्थान, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, जल तथा मौसम विज्ञान विभागलगायत मन्त्रालयअन्तर्गतका विभाग तथा निकायका प्रमुखसँग भएको

छलफलमा उहाँले यस्ताे निर्देशन दिनुभएकाे हाे । वर्तमान सरकारप्रति विशेषगरी युवा पुस्ताको भरोसा रहेका कारण साेही अनुरूप परिणाम देखिने गरी काम गर्नुपर्नेमा उहाँकाे जाेड छ । कानूनी एवं नीतिगत व्यवस्था गर्न आफू तत्पर रहेको पनि उहाँले भनाइ थियाे।

मन्त्री चौधरीले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई यसै महिनाभित्र आफ्नो मातहतबाट कति युवालाई रोजगारी, पारिश्रमिकसहितको प्रशिक्षण तथा स्वयंसेवा कार्यक्रममा सहभागी गराउन सकिन्छ भन्ने विस्तृत विवरण तथा कार्ययोजना तयार गरी मन्त्रालयमा पेस गर्न निर्देशन दिनुभयाे। उहाँले कार्यान्वयनमुखी र परिणाममुखी ढङ्गले काम गर्न आग्रह गर्दै कृषि, वन तथा पर्यावरण क्षेत्रलाई युवाका लागि आकर्षक रोजगारीको क्षेत्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएकाे छ। साथै विभागीय प्रमुखहरूले देशैभर रहेका आफ्ना कार्यालयमार्फत हाल पनि पारिश्रमिकसहित तथा पारिश्रमिकविहीन प्रशिक्षण र स्वयंसेवा कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराएका थिए ।

विभिन्न विश्वविद्यालयसँग सहकार्य गरी विद्यार्थीलाई ‘इन्टर्नशिप’मा सहभागी गराउने प्रयास भइरहेको भए पनि केही कानूनी व्यवस्थाका कारण त्यसो गर्न नसकिएको उनीहरूले बताएका छन्।