कर्णालीका सडकहरू ‘मृत्युमार्ग’मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति सांसदहरूकाे आक्रोश

15 Shares

काठमाडौं। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले कर्णाली क्षेत्रको सडक पूर्वाधारको दयनीय अवस्था र बढ्दो सवारी दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले कर्णालीका सडकहरू ‘मृत्युमार्ग’ मा परिणत भएको भन्दै राज्यको उदासिनताप्रति आक्रोश व्यक्त गर्नुभएकाे हाे । सुर्खेतदेखि कालिकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखको कर्णाली नदीमा दुर्घटना भएको सन्दर्भ उल्लेख गर्दै प्रमुख सचेतक थापाले दुर्घटना भएको लामो समय बितिसक्दा समेत राज्यका सम्बन्धित निकायबाट घटनाको आधिकारिक विवरण र यकिन तथ्य आउन नसक्नु खेदजनक रहेको बताउनुभयो ।

प्रमुख सचेतक थापाले सरकारको राजनीतिक नारा र कर्णालीको वास्तविक अवस्थाबीच ठूलो खाडल रहेको टिप्पणी गर्नुभएकाे छ। प्रधानमन्त्रीले कर्णालीलाई ‘स्वर्गकी रानी’ र ‘सुइना’ (सपना) भनेर सम्बोधन गरे पनि व्यवहारमा जनताले अकालमा ज्यान गुमाउनुपरेको भन्दै उहाँले के कर्णालीवासीले स्वर्ग देख्न मरेरै जानुपर्ने हो भन्दै प्रश्न सकेत गर्नुभयो ।

प्रमुख सचेतक थापाले कर्णालीमा भइरहेका सडक दुर्घटनालाई केवल संयोग मात्र मान्न तयार नरहेको बताउँदै यसलाई राज्यको चरम लापरवाही र बेवास्ताको परिणाम भएको जिकिर गर्नुभएकाे छ। उहाँले तत्काल उद्धार कार्यलाई तिब्रता दिन र कर्णाली राजमार्गको स्तरोन्नतिका लागि ठोस योजनासहित कदम चाल्न सरकारसँग माग गर्नुभयो ।

साथै नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले पनि कर्णाली राजमार्गको जीर्ण अवस्था र त्यहाँ भइरहेका सडक दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराउनुभएकाे छ। सांसद बरालले कर्णालीका जनताले सडक अभाव र असुरक्षाका कारण अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै राज्यको उदासिनताप्रति आपत्ति प्रकट गर्नुभयो ।

कर्णालीमा पछिल्लो समय भएको दुर्घटनाको ७२ घण्टा बितिसक्दा पनि बेपत्ताहरूको अवस्था अज्ञात रहेको भन्दै उहाँले उद्धार कार्य प्रभावकारी नभएको गुनासो गर्नुभएकाे छ। सांसद बरालले कर्णाली राजमार्गलाई ‘मृत्यु मार्ग’ को संज्ञा दिँदै यसलाई सुरक्षित राजमार्गका रूपमा विकास गर्न माग गर्नुभयो ।