रास्वपाकाे प्रथम महाधिवेशन: पदाधिकारीमा सहमति जुटाउने प्रयास असफल

13 Shares

काठमाडाैं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारीमा सहमति जुटाउने प्रयास असफल भएको छ।

आकांक्षीले एक पद त्याग्दा अर्को जिम्मेवारी खोजेपछि सहमति जुट्न नसकेको हो । सभापति रवि लामिछानेले रातभरी आकांक्षीहरुसँग छलफल गरेर सहमति जुटाउने प्रयास गर्नुभएकाे थियाे । सहमतिको प्रयास जारी रहेको भन्दै रास्वपा निर्वाचन आयोगले मतदानको प्रक्रिया अघि बढाएको थिएन । तर सहमति जुट्ने सम्भावना टरेपछि पुन: चुनावी प्रक्रिया अघि बढाइने भएको छ ।

उपसभापति र महामन्त्रीमा आकांक्षी धेरै हुँदा सहमति जुटाउन सकस भएको नेता कवीन्द्र बुर्लाकोटीले जानकारी दिनुभयाे । सभापतिले प्रयास गरेपनि आकांक्षीले उम्मेदवारी फिर्ता लिनुपरे अन्य ठाउँमा सेटल गर्नुपर्ने माग अघि सारेपछि सहमति नजुटेको बताउनुभएकाे छ । आयोगका उपप्रमुख राम गुरुङले उम्मेदवारहरूको समानुपातिक सूची मिलाएर शुक्रबार बिहान १० बजेपछि निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भएको जानकारी दिनुभयाे ।

सहमति नजुटेको जानकारी आएको र चितवनमै रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउनुपर्ने अडान राखेकोले निर्वाचनबाटै पदाधिकारी चयनको सम्भावना बढेको हो । यद्यपि अधिकांश प्रतिनिधिले भने चितवन छाेडिसकेकाे समेत एक नेताले बताएका छन् ।