काँग्रेस युवा नेताको आरोप- नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए

12 Shares

काठमाडौँ । नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेताहरूले पार्टी नेतृत्वको कार्यशैली, नैतिकता र आन्तरिक लोकतन्त्रको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् ।

उनीहरूले ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणाले पार्टीलाई कमजोर बनाएको र नयाँ राजनीतिक शक्तिहरूको उदयमा सहयोग पुगेको आरोप लगाएका छन् । विशेष महाधिवेशन र भ्रातृ संस्थाका नियुक्तिहरूलाई ‘अपारदर्शी र स्वेच्छाचारी’ भन्दै युवा नेताहरूले ती निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् ।

पार्टीको ऐतिहासिक विरासत र अग्रजहरूको योगदानलाई उपेक्षा गरी बाह्य शक्तिको प्रभावमा नेतृत्व चलेको भन्दै उनीहरूले चरणबद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् । डिजिटल सदस्यता वितरणमा देखिएको अपारदर्शिता र नेतृत्वको ‘नाटकीय’ राजीनामा प्रकरणले राजनीतिक संस्कारको उपहास गरेको उनीहरूको सामूहिक ठहर छ ।

नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेता धर्मराज शाहीले पार्टीको आन्तरिक कार्यशैली र नेतृत्वको नैतिकतामाथि प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरे । नेता शाहीले सभापति गगनकुमार थापाको सचिवालय र उहाँले अघि सारेका अवधारणाप्रति टिप्पणी गरेका हुन् ।

नेता शाहीले काँग्रेसभित्र लोकतान्त्रिक चरित्र र शुद्धीकरणलाई पाखा लगाएर ‘प्रोजेक्ट गभर्मेन्ट’का नाममा राजनीतिक नाटक मञ्चन गरिएको आरोप लगाए । उनले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को उदय हुनुमा काँग्रेसभित्रको यही ‘प्रोजेक्ट गभर्मेन्ट’ टोली जिम्मेवार रहेको दाबी गरे । शाहीकाअनुसार यदि उक्त टोलीले काँग्रेसभित्र अवसर नपाएको भए उनीहरूले नै रास्वपाको नेतृत्व गर्ने निश्चित प्रायः थियो ।

नेतृत्वमाथि वैदेशिक हस्तक्षेपको आरोप लगाउँदै शाहीले खुफिया एजेन्सी र बाह्य शक्तिको डिजाइनमा काँग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताए । विशेष महाधिवेशनका नाममा पार्टीलाई निश्चित समूहको खल्तीमा हाल्ने प्रयत्न गरिएको तर जनतालाई यसरी भ्रममा सधैँ पार्न सम्भव नरहेको उनको भनाइ छ । उनले पार्टीको इतिहासमै वर्तमान अवस्था निकै दयनीय बनेको टिप्पणी समेत गरे ।

निर्वाचनपछि पार्टीभित्र सभापति थापाले दिएको राजीनामा प्रकरणलाई शाहीले लज्जास्पद नाटकको संज्ञा दिए । सभापतिले राजीनामा दिएको अभिनय गर्ने र केन्द्रीय समितिबाट त्यसलाई नाटकीय रूपमा अस्वीकृत गराउने प्रक्रियाले राजनीतिक संस्कारको उपहास गरेको उनको तर्क छ । उनले नेतृत्वलाई राजनीतिक चेतना र नैतिकताको कसीमा उभिन आग्रह गर्दै पार्टीको साख जोगाउन गम्भीर हुन ध्यानाकर्षण गराए ।

उनले भने ‘आदरणीय सभापति ज्यू,नेपाली काँग्रेसभित्रको लोकतान्त्रिक अभ्यास र पार्टी सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने समयमा ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणालाई अघि बढाइयो । त्यसले पार्टीभित्र भ्रम सिर्जना गर्नुका साथै अन्ततः नयाँ राजनीतिक शक्तिहरू उदाउने वातावरण पनि बनायो । आजको राजनीतिक अवस्थालाई हेर्दा त्यसका केही परिणामहरू स्पष्ट रूपमा देखिएका छन् । काँग्रेसलाई बाह्य प्रभाव वा सीमित समूहको स्वार्थअनुसार सञ्चालन गर्ने प्रयास सफल हुन सक्दैन, किनकि काँग्रेस केवल एउटा संगठन होइन, जनतासँग जोडिएको ऐतिहासिक राजनीतिक आन्दोलन हो । काँग्रेसलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः जनविश्वास कमजोर बनाउने प्रयास पनि हो ।

सबैभन्दा चिन्ताको विषय भनेको राजनीतिक नैतिकता र जबाफदेहिताको प्रश्न हो। नेतृत्वले आफ्नो निर्णय र परिणामको नैतिक जिम्मेवारी लिन सक्नुपर्छ । राजीनामा दिने र फेरि नाटकीय रूपमा फिर्ता लिने अभ्यासले नेतृत्वको विश्वसनीयता बढाउँदैन, बरु प्रश्नहरू जन्माउँछ । म स्वयं पनि यही काँग्रेसको राजनीतिक विद्यालयबाट आएको व्यक्ति हुँ । राजनीतिक जीवनमा पद र अवसरभन्दा नैतिकता, इमानदारी र सिद्धान्त ठुलो कुरा हुन् भन्ने मेरो विश्वास छ । राजनीतिक रूपमा हार स्विकार्न सकिन्छ, तर नैतिक रूपमा पतन स्विकार्न सकिँदैन । त्यसैले नेतृत्वले आत्मसमीक्षा गर्दै काँग्रेसको गौरव, लोकतान्त्रिक चरित्र र नैतिक आधारलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्छ ।’

अर्का युवा नेता भूपेन्द्रजंग शाहीले हालै सम्पन्न विशेष महाधिवेशनलाई ‘फर्जी’ संज्ञा दिँदै त्यसबाट गठित केन्द्रीय समिति तत्काल खारेज गर्न माग गरे ।

भृकुटीमण्डपमा मेला हेर्न आएका व्यक्तिहरूलाई सहभागी गराएर महाधिवेशनको नाटक गरिएको आरोप लगाउँदै उनले पार्टी एकताका लागि उक्त समिति विघटन हुनुपर्नेमा जोड दिए । नेता शाहीले पार्टीका विभिन्न भातृ संस्थाहरूमा गरिएका ‘टीके’ नियुक्तिप्रति पनि आपत्ति जनाए ।

नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ जस्ता महत्त्वपूर्ण संस्थाहरूमा पदाधिकारीहरूको राय सल्लाह नगरी नेतृत्वले एकलौटी ढंगले आफ्ना निकटस्थहरूलाई नियुक्ति गरेको उनको दाबी छ ।

उनले पार्टीलाई लोकतान्त्रिक पद्धतिअनुसार अगाडि बढाउन र नयाँ ढंगले सञ्चालन गर्न निर्वाचन समितिमार्फत खुला प्रतिस्पर्धा गराउनुपर्ने माग गरे । विधानसम्मत निर्वाचन गराई चुनिएर आउने नेतृत्वलाई मात्र स्वीकार गर्न सकिने स्पष्ट पार्दै उहाँले नेतृत्वको स्वेच्छाचारी कदमको विरुद्धमा आफूहरू उभिने चेतावनी दिए ।

उनले भने ‘हालै विशेष महाधिवेशनको नाममा आयोजित कार्यक्रमबाट गठन गरिएको केन्द्रीय समितिप्रति हाम्रो गम्भीर असहमति छ । पार्टी एकता र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन सबैभन्दा पहिले उक्त केन्द्रीय समितिको पुनरावलोकन वा विघटन आवश्यक छ भन्ने हाम्रो धारणा छ । त्यसैगरी, भ्रातृ संस्थाहरूमा गरिएको मनोनयन प्रक्रियाप्रति पनि प्रश्न उठेका छन् । विगतमा टिके प्रथा र मनोनीत समितिको विरोध गर्ने नेतृत्वले आज त्यही अभ्यास दाहोर्याएको देखिन्छ ।

त्यसैले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाहरूमा गरिएको मनोनयनको पुनर्विचार हुनुपर्छ भन्ने हाम्रो माग छ । यदि पार्टीलाई साँच्चिकै लोकतान्त्रिक ढङ्गले अघि बढाउने हो भने नेतृत्व चयन र संगठन निर्माण खुला तथा प्रतिस्पर्धात्मक निर्वाचन प्रक्रियाबाट हुनुपर्छ। पार्टीले स्वतन्त्र निर्वाचन समिति गठन गरी निष्पक्ष निर्वाचन गराओस् र योग्य तथा सक्षम नेतृत्व लोकतान्त्रिक प्रक्रियामार्फत चयन होस् भन्ने हाम्रो आग्रह छ ।’

युवा नेता खगेन्द्र मल्लले पार्टी निर्माणमा योगदान पुर्याएका अग्रज नेताहरूको सम्मान हुनुपर्नेमा जोड दिँदै हालैका केही गतिविधिप्रति असन्तुष्टि व्यक्त गरे । संस्थापन इतर पक्षका नेता मल्लले नेपाली काँग्रेसको वर्तमान अस्तित्व र पहिचान पुराना नेताहरूकै त्याग, बलिदान र पसिनाको जगमा उभिएको बताए । नेता मल्लले अहिलेका प्रभावशाली नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा लगायतका युवा पुस्ताले पाएको राजनीतिक प्लेटफर्म अग्रजहरूकै देन भएको उल्लेख गरे ।

नेपाली काँग्रेस अनुभवी नेताहरूको मार्गदर्शन र युवाहरूको उत्साहको फ्युजनबाट नै एउटा गर्विलो इतिहास निर्माण गर्न सफल भएको मल्लको तर्क छ । पछिल्लो समय पार्टीमा देखिएको क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रियाप्रति उनले गम्भीर आपत्ति जनाए । डिजिटलाइजेसनका नाममा वडा कार्यसमिति र स्थानीय तहले नचिनेका व्यक्तिहरूलाई सदस्यता वितरण गरिएको भन्दै उनले यसलाई ‘अपारदर्शी’ संज्ञा दिए ।

नेता मल्लले नेतृत्वलाई सचेत गराउँदै पार्टी केवल मञ्चमा दिइने भाषण र शब्दका भण्डारले मात्र नबनेको स्मरण गराए । तल्लो तहका संरचना र निष्ठावान् कार्यकर्ताको पहिचानलाई बेवास्ता गरिए पार्टीको भविष्य संकटमा पर्ने उनको दाबी छ ।

उनले भने ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताबाट समय–समयमा कमी–कमजोरी भएका होलान् । ती विषयको मूल्याङ्कन इतिहासले गर्नेछ । तर आजको नेपाली काँग्रेस निर्माणमा योगदान पुर्याएका अग्रज नेताहरूको भूमिका, बलिदान र समर्पणलाई कहिल्यै पनि सामान्य रूपमा लिन मिल्दैन ।

उहाँहरूको त्याग, सङ्घर्ष र पसिनाले निर्माण गरेको राजनीतिक आधार नभएको भए आज हामीमध्ये धेरै जना काँग्रेसको नेतृत्व तहसम्म पुग्ने अवसर पाउने थिएनौँ । त्यसैले नयाँ पुस्ताको नाममा पुराना, अनुभवी र योगदान गरेका नेताहरूलाई अपमान गर्ने वा विस्थापित गर्ने सोच स्वीकार्य हुन सक्दैन। नेपाली काँग्रेसको शक्ति भनेको अनुभवी नेताहरूको अनुभव र युवाहरूको जोसको समन्वय हो ।

यही संयोजनले पार्टीलाई यहाँसम्म ल्याएको हो । त्यसैले पुस्तान्तरणको नाममा योगदान गरेका कार्यकर्तालाई पाखा लगाउने होइन, सम्मानपूर्वक समेट्ने संस्कार आवश्यक छ । क्रियाशील सदस्यता नवीकरण र डिजिटल प्रणालीको कार्यान्वयनका क्रममा पनि पार्टीको आधारभूत संरचनाको सम्मान हुनुपर्छ । वडा, पालिका, जिल्ला र प्रदेश तहका संगठनले नचिनेका व्यक्तिहरूलाई मात्र प्राथमिकता दिँदै वर्षौँदेखि योगदान गरेका कार्यकर्तालाई उपेक्षा गरियो भने त्यसले पार्टीलाई बलियो बनाउँदैन ।

हामी सचेत गराउन चाहन्छौँ कि नेपाली काँग्रेस केवल भाषण, नाराबाजी वा नयाँ अनुहारले मात्र बनेको पार्टी होइन । यो हजारौँ नेता–कार्यकर्ताको त्याग, सङ्घर्ष र बलिदानले निर्माण भएको ऐतिहासिक संस्था हो। त्यसैले पार्टी रूपान्तरणको नाममा यसको मूल आधार र मूल्यलाई कमजोर पार्नु हुँदैन ।’

युवा नेतृ सिर्जना मल्लले पार्टी नेतृत्वको कार्यशैलीप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिइन् । संस्थापन इतर पक्षधर नेतृ मल्लले पार्टीभित्र स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हाबी हुँदै गएको भन्दै यस्तो शैली नरोकिए युवा, विद्यार्थी र महिलाहरू चुप लागेर नबस्ने स्पष्ट पारिन् । नेतृ मल्लले नेतृत्वले आफ्नो एकहोरोपन र एकाधिकारवादी चरित्र पार्टीमा लादिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध युवा जमात चरणबद्ध आन्दोलनका लागि तयार भइसकेको उल्लेख गरिन् ।

मल्लले नेपाली काँग्रेसमाथि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू हाबी भइरहेको दाबी समेत गरिन् । उनले पार्टीका सभापति थापामाथि बाह्य शक्तिको ठुलो दबाब र थ्रेट रहेको उल्लेख गर्दै थापा यतिबेला कठिन परिस्थितिमा रहेको टिप्पणी गरिन् ।

उनले भनिन् ‘यदि पार्टीभित्र एकपक्षीय निर्णय र तानाशाही प्रवृत्ति निरन्तर अघि बढाइयो भने त्यसको विरोध स्वाभाविक रूपमा बढ्नेछ । आजका युवा, विद्यार्थी र महिलाहरू अब चुप लागेर बस्ने अवस्थामा छैनन् । पार्टीभित्र लोकतन्त्र, पारदर्शिता र सहभागिताको पक्षमा आवाज उठाउन तथा आवश्यक परे चरणबद्ध आन्दोलन गर्न पनि नयाँ पुस्ता तयार छ । नेपाली काँग्रेस आज विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । यस्तो अवस्थामा नेतृत्वले विभाजन होइन, एकता र समन्वयको बाटो रोज्नुपर्छ । पार्टीलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वकै काँधमा छ । म विश्वास गर्छु कि नेतृत्वले कुनै दबाब, प्रभाव वा स्वार्थभन्दा माथि उठेर पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र आम समर्थकलाई एकताबद्ध गर्नुपर्छ । नेपाली काँग्रेसको शक्ति यसको संगठन, इतिहास र कार्यकर्ताको विश्वासमा निहित छ । यदि नेतृत्वले सबैलाई आत्मसात् गर्दै लोकतान्त्रिक र एकताबद्ध ढङ्गले अघि बढ्न सक्यो भने पार्टीले आफ्नो गन्तव्य अवश्य प्राप्त गर्नेछ ।’

सभापतिलाई लक्षित गर्दै उनले कुनैपनि शक्ति वा धम्कीको सामु नझुकी पार्टीलाई एकजुट बनाउन आग्रह गरिन् । काँग्रेसलाई एकताबद्ध बनाउनु र राष्ट्रको हितमा बोल्नु नेतृत्वको मुख्य धर्म भएको भन्दै उनले कार्यकर्ताको भावनालाई आत्मसात् गरेर अगाडि बढ्न सुझाव दिइन् । कसैको डर वा प्रभावमा नपरी सबै पक्षलाई मिलाएर अगाडि बढे मात्र पार्टी गन्तव्यमा पुग्न सक्ने उनको ठहर छ ।