नेपाल–भारत सम्बन्ध विकास कूटनीतिमा केन्द्रित हुनुपर्छ : रवि लामिछाने

62 Shares

काठमाडौं । रवि लामिछानेले नेपाल र भारतबीचको सम्बन्धलाई परम्परागत राजनीतिक तथा भूराजनीतिक बहसभन्दा माथि उठाएर विकास कूटनीति, लगानी, व्यापार र आर्थिक साझेदारीमा केन्द्रित गर्नुपर्ने बताएका छन्।

पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले भारतीय सञ्चारमाध्यम Hindustan Timesमा मंगलबार प्रकाशित एक लेखमार्फत नेपाल–भारत सम्बन्ध र नेपालको परराष्ट्र नीतिबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्। उनले दुवै देशबीचको सम्बन्धलाई आर्थिक समृद्धि र साझा विकासको आधारमा पुनर्परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

लेखमा लामिछानेले कूटनीतिक नियोगहरूलाई केवल औपचारिक सम्बन्ध व्यवस्थापन गर्ने संरचनाका रूपमा सीमित नराखी लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उनले नेपालमा रहेको विशाल जलविद्युत् सम्भावना भारतको बढ्दो ऊर्जा आवश्यकताका लागि स्वच्छ तथा दिगो स्रोत बन्न सक्ने उल्लेख गर्दै एकीकृत क्षेत्रीय ऊर्जा बजार निर्माणमा जोड दिएका छन्।

यस्तै, सीमापार व्यापारलाई सहज र प्रतिस्पर्धी बनाउन प्रशासनिक झन्झट तथा प्रक्रियागत जटिलता हटाउनुपर्ने उनको धारणा छ। यसका लागि आधुनिक तथा डिजिटल प्रविधिमा आधारित एकीकृत जाँच चौकी, उन्नत पारवहन करिडोर तथा प्रभावकारी व्यापार पूर्वाधार निर्माण आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

पर्यटन क्षेत्रलाई नेपाल–भारत सहकार्यको अर्को महत्वपूर्ण आधारका रूपमा प्रस्तुत गर्दै लामिछानेले जनकपुर, लुम्बिनी, बोधगया तथा हिमाली क्षेत्रहरूलाई समेटेर साझा पर्यटन सर्किट विकास गर्न सकिने बताएका छन्। यसबाट अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न र दुवै देशको पर्यटन उद्योगलाई लाभ पुग्ने उनको विश्वास छ।

नेपाल–भारत सम्बन्धमा बेलाबेलामा देखिने सीमा विवादका विषयमा पनि उनले धारणा व्यक्त गरेका छन्। सीमा सम्बन्धी समस्याहरूलाई उग्र राष्ट्रवाद वा भावनात्मक नाराबाजीबाट नभई तथ्य, प्रमाण र आपसी संवादका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ छ। उनले विश्वास र समझदारीमा आधारित वार्तामार्फत दुवै देशका संवेदनशील मुद्दा समाधान गर्न सकिने उल्लेख गरेका छन्।

लामिछानेले नेपालको आर्थिक विकासलाई क्षेत्रीय स्थिरता र सहकार्यसँग जोडेर हेर्नुपर्ने आवश्यकता औंल्याउँदै वर्तमान समय नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसर भएको बताएका छन्। दुवै देशले साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्न सके आर्थिक समृद्धि, ऊर्जा सुरक्षा, व्यापार प्रवर्द्धन तथा क्षेत्रीय विकासमा उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने उनको निष्कर्ष छ।