आयोगको निर्वाचन समीक्षाः निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव

43 Shares

काठमाडाैं । निर्वाचन आयोगलाई निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।

निर्वाचन आयोगले आयोजना गरेको निर्वाचन समीक्षामा सहभागीहरुले निर्वाचन स्थल अपाङ्गमैत्री बनाउन सुझाव दिएका हुन् । आयोगले सातै प्रदेशमा निर्वाचन कानूनअनुसार प्रतिनिधि सभा निर्वाचन २०८२ को समीक्षा आयोजना गरेको थियो ।

समीक्षामा मतदान स्थल व्यवस्थापन, अपाङ्गमैत्री पूर्वाधार र मतपेटिका ढुवानीको व्यस्थापन मुख्य रुपमा उठेको निर्वाचन आयुक्त सगुन शमशेर जबराले बताएका छन् ।

उनकाअनुसार कतिपय मतदान केन्द्र मन्दिरजस्ता अनुपयुक्त स्थानमा राखिएको भन्दै पुनरावलोकनको सुझाव आएको छ । तर अपाङ्गमैत्री निर्वाचनस्थल बनाउन सरकारले नै दीर्घकालिन नीति बनाउनुपर्ने आयुक्त जबराले बताएका छन् । आयोगले विद्यालय, क्याम्पस र सरकारी कार्यालयलाई मतदानस्थल तोक्ने गरेकोले ती स्थलहरुलाई सरकारले नै व्यवस्थित गर्नुपर्ने उनको भनाई छ ।

उनले समिक्षामा निर्वाचनको समग्र मूल्यांकन सकारात्मक आएको दाबी गरेका छन् । हालसम्मकै मितव्ययी, स्वच्छ, निष्पक्ष रुपमा निर्वाचन भएको उनको भनाई छ । उनले सरकारले निर्वाचनको लागी छुट्याएको रकममा करिब डेढ अर्ब रुपैयाँ जोगाएर सरकारलाई नै फिर्ता गर्ने तयारी गरेको जानकारी दिएका छन् ।

उनले नतिजा पनि विगतमा भन्दा छिटो सार्वजनिक गरिएको दाबी गरे । उनकाअनुसार कुनैपनि मतदान केन्द्रमा पुनः मतदान गर्नु परेन भने निर्वाचनसँग सम्बन्धित मुद्दा–मामिला पनि दर्ता भएनन् । आयोगले प्रदेशस्तरीय समीक्षामा राजनीतिक दल, सुरक्षा निकाय, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, मतदान अधिकृत, स्वयंसेवक तथा पर्यवेक्षकहरूको सुझाव संकलन गरेको थियो ।

फिल्डमा खटिएका निर्वाचन कर्मचारीहरुले भोगेको समस्या पहिचान र उनीहरुले दिएका सुझावअनुसार आगामी निर्वाचनलाई अझ स्वच्छ, मितव्ययी र प्रभावकारी बनाउन समिक्षा आयोजना गरिएको आयुक्त जबराले बताए । बिहीवार गण्डकी प्रदेशको समिक्षासँगै कार्यक्रम सकिएको आयोगले जनाएको छ ।