काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् ।
पूर्वाधार तथा सम्पदाको विकास तथा निर्माणको काम लगभग सकिएकाले अव ललितपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा लगानी बढाउने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने उनको भनाई थियो ।
बिहीबार ललितपुरमा आयोजित अंगदात सम्मान कार्यक्रममा बोल्दै मेयर महर्जनले पछि आबद्ध हुन आएको खोकना, हरिसिद्धी, बुङमती र धापाखेलका वडाहरूमा मात्रै पूर्वाधार विकासको काम बाँकी रहेकाले महानगरपालिकाले अव सो क्षेत्रमा पनि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको बताए ।
उनले भने ‘उपमहानगरपालिकाबाट महानगरपालिकामा मर्ज हुन आएको खोकना, हरिसिद्धी, बुङमती र धापाखेल यो वडाहरूमा चाहिँ अलिकति पूर्वाधारको क्षेत्रमा काम गर्न बाँकी छ । अरू सबै लगभग सकियो । अहिले ललितपुरमा महानगरपालिका क्षेत्रमा सम्पदाको काम लगभग सिद्धियो । पाटन दरबार स्क्वायरमा रहेको जतिपनि मठमन्दिर, शिवालय, देवालय लगायत सबै सम्पदाहरूको बनाउने काम सिद्धियो । हामीले अहिले सम्पदाको क्षेत्रमा खास बजेट व्यवस्थापन गर्न पर्दैन । पूर्वाधारको क्षेत्रमा पनि बजेट आवश्यक छैन । बजेटमा हामीले अहिले ध्यान दिनुपर्ने भनेको शिक्षा, स्वास्थ्य र इम्प्लोईमेन्टमा हो । स्वास्थ्यमा पनि हामीले धेरै नै लगानी गर्दै आइरहेका छौँ ।’
मेयर महर्जनले ललितपुर महानगर भित्रको चलपथमा ४ महिनाभित्र स्मार्ट लाइट जडानको काम सम्पन्न हुने समेत बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया