प्रधानमन्त्रीको खोजी गर्दै विपक्षीको विरोध, संसदमा बासना थापाको सरकारमाथि कडा टिप्पणी

13 Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले मंगलबार पनि प्रधानमन्त्रीको खोजी गर्दै विरोध जनाएका छन् ।

आकस्मिक, शून्य र विशेष समय सकिएपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोज्दा विपक्षी सांसदहरू उठेर विरोधमा उत्रिएका हुन् ।

विरोधपछि सभामुखले सांसद बासना थापालाई बोल्न समय दिएका थिए। उनले सरकारको कार्यशैलीप्रति गम्भीर प्रश्न उठाउँदै संसद् केवल संख्याको खेल नभई विचार–विमर्श, उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च लोकतान्त्रिक थलो भएको बताइन् ।

थापाले प्रतिपक्षको अवरोधबीच विधेयक पारित गर्नु बहुमतको दम्भ भएको टिप्पणी गर्दै प्रधानमन्त्री र सरकारकै कारण संसदीय समितिहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको आरोप लगाइन् ।

प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमले प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गरेको उल्लेख गर्दै उनले यस्तो अभ्यास संसदीय मर्यादाविपरीत भएको बताइन् ।

“बहुमत सरकार चलाउने आधार हुन सक्छ, तर लोकतन्त्र चलाउने आधार होइन,” उनले भनिन् ।