वार्ता जारी रहेकाे अवस्थामै अमेरिकी सेनाको इरानमाथि हवाई आक्रमण

170 Shares

एजेन्सी । अमेरिकी सेनाले इरानको दक्षिणी क्षेत्रमा नयाँ हवाई आक्रमण गरेको छ ।

इरानी क्षेप्यास्त्र प्रहार गर्ने स्थल र समुद्री सुरुङ बिच्छाउन लागेका डुङ्गालाई लक्षित गरी उक्त आक्रमण गरिएको बिबिसीले जनाएको हाे । अमेरिकी सेन्ट्रल कमान्डले एक विज्ञप्ति जारी गर्दै यो कारबाही आत्मरक्षाका लागि गरिएको र इरानी फौजबाट आफ्ना सैनिकहरूमाथि हुन सक्ने खतराबाट जोगाउन यो कदम चालिएको दावी गरेकाे समाचारमा उल्लेख गरिएको छ ।

सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले जारी युद्धविरामका बेला अमेरिकी सेनाले संयमता अपनाउँदै आफ्ना फौजको रक्षा गरिरहेको दावी गर्नुभएकाे हाे । यो आक्रमण इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको वार्तामा केही प्रगति भएको तर द्वन्द्व अन्त्य गर्ने सम्झौता तत्कालै भइहाल्ने सम्भावना नरहेको बताउनुभएकाे छ ।

न्युयोर्क टाइम्सले प्रवक्ता हकिन्सले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज मार्गमा अवस्थित इरानी नौसैनिक बेस रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास नजिकैको क्षेत्रलाई लक्षित गरी आक्रमण गरिएको जनाएकाे हाे । यसअघि इरानी सरकारी सञ्चारमाध्यमले बन्दर अब्बासमा ठूला विस्फोटको आवाज सुनिएपछि स्थानीय अधिकारीले यसकाे बारेमा अनुसन्धान शुरु गरेको रिपोर्ट सार्वजनिक गरेका थिए ।

गत साताको अन्त्यमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष सम्झौताको नजिक पुगेको संकेत गर्नुभएकाे थियाे । तर पछि उहाँले आफ्ना वार्ताकारहरूलाई सम्झौताका लागि हतार नगर्न निर्देशन दिनुभएकाे छ।