निजगढ । बाराको निजगढमा आज साँझ आएको भीषण हुरीका कारण रुखको हाँगा ट्याक्टरमाथि खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो ।
घटनामा गम्भीर घाइते भएका अर्याललाई तत्काल निजगढस्थित सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
दुर्घटनामा ट्याक्टरमै सवार नुवाकोट सूर्यगढी नगरपालिका–१ लज्याङ घर भई हाल निजगढ–५ बागदेव बस्ने ३२ वर्षीय कृष्ण घलान घाइते भएका छन् । ट्याक्टर चालक निजगढ नगरपालिका–४ पुरानो टोलका ५० वर्षीय बुद्धमान बल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया