जनतालाई थाहा नदिई कानुन थोपर्ने अभ्यास गलत : सभामुख अर्याल

48 Shares

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल ले देश र नागरिकलाई सुहाउँदो कानुन निर्माणमा सांसदहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

पूर्वसांसद मञ्च नेपालले शुक्रबार आयोजना गरेको ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले पुराना कानुनको संशोधन, खारेजी तथा भविष्यलाई ध्यानमा राखेर विधायकी प्रक्रिया अघि बढाउनुपर्ने बताएका हुन् ।

सभामुख अर्यालले विधेयक मस्यौदा निर्माणको हालको अभ्यासले व्यावहारिक आवश्यकता सम्बोधन गर्न नसकेको टिप्पणी गरे ।

‘विधेयकको निर्माण कसले गरिदिन्छ, कसलाई सोधेर र कोसँग छलफल गरेर गरिन्छ ?’ उनले प्रश्न गरे ।

उनले कानुनको प्रत्यक्ष प्रयोगकर्तालाई जानकारी नै नदिई बनाइएका कतिपय कानुनले नेपालको भूगोल, समाज र चेतनास्तरलाई समेट्न नसकेको बताए ।

‘कानुनको प्रयोगकर्तालाई कस्तो कानुन बन्छ भन्ने थाहा हुँदैन । हामी कानुन बनाइदिन्छौँ,’ उनले भने, ‘तिमी प्रयोग गर भनेर लाद्ने कोसिस गर्छौँ । यसबाट जनताले आफूले प्रयोग गर्ने कानुन थाहा पाउँदैनन् र जबर्जस्ती सो कानुन पालना गर्न बाध्य हुन्छन् ।’

सभामुख अर्यालले मुलुकमा गणतन्त्र स्थापना गर्न पूर्वसांसदहरूले खेलेको भूमिका असाधारण रहेको पनि उल्लेख गरे । अग्रजहरूको राजनीतिक अनुभव र नयाँ पुस्ताको सक्रियताले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा प्रतिनिधिसभा र राष्ट्रियसभाका विषयगत समितिका सभापति, पूर्वसांसद, संविधानसभा सदस्य, बहालवाला सांसद, संघीय संसद् सचिवालयका महासचिव तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय का सचिवलगायतको उपस्थिति रहेको थियो ।

 –रासस