काठमाडौं । नेपाली कांग्रेस का सभापति गगनकुमार थापा ले सरकारले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोग ले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।
शुक्रबार सुनसरीको लौकही मा आयोजित ‘प्रदेश तथा स्थानीय तह स्तरीय भेला’ लाई सम्बोधन गर्दै उनले २३–२४ भदौमा भएको घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन खोइ ? सरकारले प्रतिवेदन सार्वजनिक गर्नैपर्छ,’ थापाले भने ।
उनले २४ भदौको घटनामा संलग्न दोषीहरू कानुनी कठघरामा आउनुपर्नेमा जोड दिए ।
‘२४ गतेका दोषी कानुनको कठघरामा आउनैपर्छ । योजनाबद्ध घटना घटाउनेहरू जो–जो छन्, छन् भने कानुनी दायरामा आउनुपर्छ,’ उनले भने ।
सभापति थापाले सरकारले एक सय दिनभित्र गर्ने भनिएका कामको सूची पनि स्मरण गराउँदै सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।
‘जे–जे मन लाग्यो, त्यो सय दिनमा गर्दै जाने ? मन नपरेको कुरा हजार दिनमा गर्ने सुविधा छैन,’ उनले टिप्पणी गरे ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी प्रति संकेत गर्दै बहुमत पाए पनि संविधानविपरीत जान नहुने बताए ।
‘रास्वपाले दुईतिहाइ बहुमत पाएको छ । रास्वपाले म्यान्डेट पाएको छ । पूर्ण रूपमा सहयोग गर्छौं,’ उनले भने, ‘मसँग संख्या छ भन्छ भने, संविधानविपरीत जान्छ भने त्यहाँ कांग्रेस उभिन्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया