काठमाडौं । विपक्षी दलहरूको विरोधकाबीच सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधिसभा बैठक अगाडि बढाएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह को उपस्थिति माग गर्दै विपक्षीले अवरोध गरेपछि पहिलो बैठक स्थगित गरिएको थियो ।
स्थगित भएर बसेको दोस्रो बैठकमा पनि विपक्षीले प्रधानमन्त्रीको खोजी गरे । तर सभामुख अर्यालले विरोधकै बीच बैठक सञ्चालनलाई निरन्तरता दिएका हुन् ।
बिहीबारको बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका शाहले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । तर प्रधानमन्त्री बैठकमा अनुपस्थित रहेपछि सभामुखले प्रधानमन्त्रीको तर्फबाट सोबिता गौतम लाई प्रस्ताव प्रस्तुत गर्न समय दिएका थिए ।
विपक्षी दलहरूले भने नीति तथा कार्यक्रम प्रस्तुत भएयता निरन्तर प्रधानमन्त्रीको उपस्थिति माग भइरहेको स्मरण गराउँदै प्रश्न उठाए । उनीहरूले प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुनुपर्ने व्यवस्था रहेको उल्लेख गरे ।
विपक्षी सांसदहरूले जेठ महिनाको पहिलो हप्ताको अन्तिम दिनसम्म पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुन नसकेको अवस्थामा प्रधानमन्त्रीकै कार्यसूची अर्को मन्त्रीमार्फत अघि बढाउन खोजिएको भन्दै आपत्ति जनाए ।
यसक्रममा सत्तापक्षबाट अशोक कुमार चौधरी ले प्रधानमन्त्रीलाई अर्को मन्त्रीमार्फत कार्यसूची प्रस्तुत गराउने अधिकार रहेको बताएका थिए । त्यसपछि संसद्मा सत्तापक्ष र प्रतिपक्षबीच सवाल–जवाफ चर्किएको थियो ।
विवाद बढेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसपछि पुनः बसेको बैठक विपक्षीको विरोधकै बीच सञ्चालन गरिएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया