सडक मर्मतका लागि १५ अर्ब ५५ करोड बजेट आवश्यक: विभाग

18 Shares

काठमाडौँ । सडक विभागले आगामी आर्थिक वर्षका लागि देशभरका रणनीतिक सडक सञ्जालको मर्मतसम्भार गर्न १५ अर्ब ५५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने प्रक्षेपण गरेको छ ।

विभागले आयोजना गरेको ‘एकीकृत वार्षिक सडक मर्मत योजना’ सम्बन्धी कार्यशाला गोष्ठीमा उक्त विवरण सार्वजनिक गरिएको हो ।

विभागका प्रवक्ता एवं उपमहानिर्देशक इन्जिनियर श्यामबहादुर खड्काकाअनुसार विभाग अन्तर्गतका राष्ट्रिय राजमार्ग र सहायक सडक सञ्जाल गरी कुल १८ हजार किलोमिटर सडकको मर्मतका लागि सो रकम माग गरिएको हो ।

यो बजेट सडकहरूलाई सुरक्षित र सुचारु अवस्थामा राख्नका लागि नियमित, पुनरावर्ती र आवधिक मर्मतका साथै सडक सुरक्षा र बायो–इन्जिनियरिङ जस्ता कार्यमा खर्च गरिनेछ । सडक विभागले सडकको भौतिक अवस्था, ट्राफिक चाप र सतहको गुणस्तरका आधारमा वैज्ञानिक पद्धतिबाट यो योजना तयार पारेको जनाएको छ ।

विभागका चारवटा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयहरूमार्फत सडक खण्डहरूको तथ्याङ्क सङ्कलन गरी वेब–बेस्ड सफ्टवेयर प्रणालीमार्फत मर्मतको आवश्यकता र बजेटको पहिचान गरिएको प्रवक्ता खड्काले जानकारी दिए ।

उनले भने ‘हामीले सडकको इन्भेन्टरी, ट्राफिक चाप र सडक सतहको अवस्थालाई विश्लेषण गरेर डाटाबेस्ड प्लानिङ गरेका छौँ । यस कार्यशालाले देशभरिका कुन सडक खण्डलाई कस्तो प्रकारको मर्मत आवश्यक छ भन्ने एकीकृत चित्र स्पष्ट पारेको छ ।’

यस योजनाले निर्माण सम्पन्न भई मर्मतको चरणमा प्रवेश गरेका आयोजनाहरूको पहिचान र प्रमाणीकरण गर्ने कार्यलाई समेत सहज बनाएको छ । मर्मत कार्यलाई थप प्रभावकारी बनाएर नागरिकलाई सहज र सुरक्षित यातायात सुविधा प्रदान गर्ने लक्ष्य विभागले राखेको छ । आगामी आर्थिक वर्षमा सडकको मर्मतसम्भारलाई प्राथमिकतामा राख्दै यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यो एकीकृत योजना कोशेढुङ्गा साबित हुने विभागको विश्वास छ ।