काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्ममा नेपालको कूल सार्वजनिक ऋणकाे दायित्व २९ खर्ब ७५ अर्ब ४ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार सार्वजनिक गरेको गत वैशाख महिनाको मासिक प्रतिवेदन अनुसार यो रकम नेपालको कूल गार्हस्थ्य उत्पादनको ४५ दशमलव ०८ प्रतिशत हुने भएकाे हाे । चालु आर्थिक वर्षको शुरुमा कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रहेकोमा समीक्षा अवधिमा विनिमय दरमा भएको नोक्सानीसहित थप ३ खर्ब ९९ अर्बले वृद्धि भएको छ ।

हाल कायम कूल ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ५७ प्रतिशत (१५ खर्ब ९३ अर्ब ८१ करोड) र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ४३ प्रतिशत (१३ खर्ब ८१ अर्ब २२ करोड) रहेको कार्यालयले जनाएकाे छ । सरकारले चालु आर्थिक वर्षमा कूल ५ खर्ब ९५ अर्ब ६६ करोड सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । तर, वैशाख मसान्तसम्ममा ३ खर्ब ६५ अर्ब १६ करोड मात्र ऋण प्राप्ति भएको छ । जुन वार्षिक लक्ष्यको ६१ दशमलव ३० प्रतिशत मात्र हो ।
ऋण प्राप्तिको प्रगतितर्फ आन्तरिक ऋण उत्साहजनक देखिए पनि वैदेशिक ऋण भने न्यून छ । आन्तरिक ऋण लक्ष्यको ८२ दशमलव ५० प्रतिशत (२ खर्ब ९८ अर्ब ६६ करोड) प्राप्त भइसकेको छ । वैदेशिक ऋण लक्ष्यको केवल २८ दशमलव ४६ प्रतिशत (६६ अर्ब ४९ करोड) मात्र प्राप्त भएको कार्यालयले जनाउकाे हाे ।
त्यस्तै, वैशाख मसान्तसम्मको खुद ऋण परिचालन १ खर्ब ३३ अर्ब २३ करोड रहेको छ। मासिक तथ्यांक अनुसार वैशाख महिनामा मात्र सरकारले १५ अर्ब ८७ करोड ऋण प्राप्त गरेको हाे । सोही महिनामा २६ अर्ब ८१ करोड आन्तरिक र ११ अर्ब ५९ करोड बाह्य ऋणको भुक्तानी सरकारले गरेको कार्यालयले जनाएकाे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया