नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय हो: शंकर पोखरेल
12
Shares
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीभित्र नेतृत्वमाथिको प्रश्न अपेक्षाको मात्र नभई विश्वासको विषय भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित ३३ औँ मदन–आश्रित स्मृति दिवस का अवसरमा भएको विमर्श कार्यक्रममा बोल्दै उनले नेतृत्व निर्माणका लागि वैचारिक, राजनीतिक र संगठनात्मक विश्वास मुख्य आधार हुने बताए ।
उनले युवापुस्ताले नेतृत्वसँग जिम्मेवारी र अवसरको माग गर्नु स्वाभाविक र जायज भए पनि आन्दोलनको समग्र नेतृत्व गर्न सक्ने क्षमता, संगठनात्मक दक्षता र व्यापक विश्वास आवश्यक हुने धारणा राखे ।
‘नेतृत्वको प्रश्न अपेक्षाको कुरा मात्र होइन, विश्वासको कुरा पनि हो,’ उनले भने, ‘जबसम्म बहुसंख्यक सदस्यको विश्वास जित्न सकिँदैन, तबसम्म नेतृत्व स्थापित हुन सक्दैन ।’
पोखरेलका अनुसार जुनसुकै उमेरको व्यक्ति पनि नेतृत्वमा पुग्न सक्छ, तर त्यसका लागि वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा विश्वास जित्न सक्ने क्षमता आवश्यक हुन्छ ।
उनले पछिल्लो समय समाजमा ‘पुरानाले गरेनन्, नयाँले गर्छन्’ भन्ने भाष्य निर्माण भएको उल्लेख गर्दै त्यसबाट प्रभावित नहुन पार्टी कार्यकर्तालाई आग्रह गरे ।
समाजको विकास कुनै एक पुस्ताको मात्र विषय नभई समग्र राजनीतिक दृष्टि र नेतृत्व क्षमतासँग जोडिएको विषय भएको उनको भनाइ थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया