काठमाडौं । सिन्दुरे जात्रा को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै निर्माण टिमले औपचारिक रूपमा फिल्मको छायांकन थालेको हो ।
सारंगी फिल्म्स को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्मको छायांकन पर्वतको आर्थर डाँडाखर्कबाट सुरु गरिएको निर्देशक सरोज पौडेल ले जानकारी दिए ।
शुभसाइत पूजामा फिल्मका मुख्य कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
निर्देशक पौडेलका अनुसार फिल्मको छायांकन करिब एक महिनासम्म चल्नेछ । यसअघि निर्देशक पौडेल तथा कलाकारद्वय विजय बराल र अञ्जना बराइलीले पूर्णबहादुरको सारंगी मा सहकार्य गरेका थिए, जुन सर्वकालीन ब्लकबस्टर फिल्मका रूपमा चर्चित बनेको थियो ।
त्यसपछि यी तीनजनाको सहकार्य पुनः सिन्दुरे जात्रा मार्फत दोहोरिएको हो । फिल्मको पटकथा पनि निर्देशक सरोज पौडेलले नै लेखेका हुन् ।
आरआर फिल्म्स ले वितरण गर्ने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया