महावीर पुन को प्रश्न : ‘विज्ञान ठूलो कि २–३ अर्ब रुपैयाँ ठूलो ?’

35 Shares

काठमाडौँ । सांसद महावीर पुन ले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय स्थापना गर्न नमानेको भन्दै कडा आपत्ति जनाउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई निरन्तर उपेक्षा गरेको आरोप लगाउनुभयो ।

उहाँले विश्वविद्यालयलाई राजनीतिक प्रभावबाट मुक्त गर्ने उद्देश्यले ल्याइएको अध्यादेश सकारात्मक भए पनि विश्वविद्यालयको कुलपति प्रधानमन्त्री नै रहने व्यवस्था राखिएकोमा असन्तुष्टि जनाउनुभयो ।

पुनले नवप्रवर्तन क्षेत्रमा काम गर्न छुट्टै नवप्रवर्तन कोष स्थापना गर्नुपर्नेमा जोड दिँदै सरकारले त्यसतर्फ ध्यान नदिएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्ने अध्यादेश राम्रो अवधारणासहित आएको छ । तर विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुनुहुँदैन भन्ने मेरो धारणा थियो । त्यस्तै, नवप्रवर्तन कोषसम्बन्धी अध्यादेश ल्याउन पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ भइरहेको छैन । विज्ञान, प्रविधि, नवप्रवर्तन तथा अनुसन्धान मन्त्रालय छुट्टै खोल्नुपर्छ भन्ने माग पनि बेवास्ता गरिएको छ ।”

मन्त्रालय सञ्चालनमा केही अर्ब रुपैयाँ खर्च लाग्ने भन्दै सरकार पछि हट्न खोजेको आरोप लगाउँदै उहाँले प्रश्न गर्नुभयो, “विज्ञान र नवप्रवर्तन ठूलो कि २–३ अर्ब रुपैयाँ ठूलो ?”