काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाही ले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन ? भन्ने प्रश्न गर्नुभयो ।
नेता शाहीले सरकारले सुकुम्बासी बस्तीमा नभई हुकुमबासी मानसिकतामाथि प्रहार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सुकुम्बासीको नाममा हुकुमबासीहरूले गरेका गलत काममा सरकारले मौनता साधेको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारी सम्पत्ति जोगाउनुपर्छ, अवैध संरचना भत्काउनुपर्छ भन्ने पक्षमा म छु । तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन । सरकारले सुकुम्बासी बस्ती होइन, हुकुमबासीको मानसिकतामाथि प्रहार गर्नुपर्छ ।”
शाहीले सुकुम्बासी बस्ती हटाउने क्रममा दुई जनाले आत्महत्या गर्नुपरेको उल्लेख गर्दै नागरिकको जीवन सुरक्षा सरकारको कर्तव्य भएको पनि बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया