काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसद् बैठक बाहिर निस्किएको घटनाबारे तत्काल जवाफ दिन प्रधानमन्त्री बालेन्द्र साहसँग माग गरेको छ ।
मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकको सुरुमा नै बोल्दै उक्त पार्टीकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्री साहले संवैधानिक संस्कार, संसदीय परम्परा विपरीत गैरजिम्मेवार ढंगले राष्ट्रपति जस्तो गरिमामय पदको समेत अपमान हुनेगरी बैठक कक्षबाट बाहिरिएको घटना लोकतान्त्रिक संसदीय इतिहासमा नै विरलै घटने घटनाको रूपमा चित्रण गर्दै तत्सम्बन्धीमा तत्काल संसदमा जवाफ दिन माग गरिन् ।
उनले प्रधानमन्त्री साहलाई संवैधानिक पदको सम्मान गर्न, संसदीय परम्परालाई कमजोर नबनाउन र भविष्यमा यस्ता घटनाको पुनरावृत नगर्न पनि सचेत गराइन् । प्रमुख सचेतक थापाले संवैधानिक पदहरूको मर्यादाको ख्याल गरेर अघि बढ्न पनि प्रधानमन्त्री साहको ध्यानाकर्षण गराइन् ।
उनले भनिन् ‘लोकतान्त्रिक संसदीय इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौ । सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भई रहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य मात्रै होइन, यो संवैधानिक संस्कार, संसदीय परम्परा, सरकारको गैरजिम्मेवार हो भन्ने हामीलाई लागिराखेको छ । त्यसैले म सरकारलाई आग्रह गर्न चाहन्छु–यस विषयमा तत्काल स्पष्ट जवाफ दिइयोस् । संवैधानिक पदको सम्मान गरियोस् । संसदीय परम्परालाई कमजोर नबनाईयोस । र, भविष्यमा यस्ता घटनाको पुनरावृत नहोस् । लोकतन्त्रमा पद भन्दा ठुलो मर्यादा भन्दा ठुलो जनविश्वास हो भन्ने कुरामा ध्यान जाओस् । प्रतिपक्ष दलको तर्फबाट सम्माननीय सभामुखमार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको जवाफको माग गर्दछु ।’
प्रमुख सचेतक थापाले पदभन्दा ठुलो मर्यादा र मर्यादा भन्दा ठुलो जनविश्वास हो भन्ने तथ्यलाई स्वीकार गरेर अघि बढ्न पनि प्रधानमन्त्री साहलाई सुझाव दिइन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया