गुण्डुमा ओली र भण्डारीबीच तीन घण्टा छलफल

13 Shares

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार साँझ भेटवार्ता भएको छ ।

भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको भेटमा अध्यक्ष ओलीको स्वास्थ्य अवस्था र मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको स्रोतले जनाएको छ ।

पत्थरीको शल्यक्रियापछि अध्यक्ष ओली निवासमै स्वास्थ्य लाभ गरिरहेका छन् । यसअघि पनि ओली अस्पतालमा उपचाररत रहेका बेला पूर्वराष्ट्रपति भण्डारीले अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

ओली निकट स्रोतका अनुसार भण्डारी र ओलीबीच करिब तीन घण्टा लामो संवाद भएको थियो ।

पछिल्लो समय एमालेभित्र नेतृत्व हस्तान्तरणको विषय चर्चामा छ । गत फागुनमा सम्पन्न निर्वाचनमा एमालेको नतिजा अपेक्षाअनुसार नआएपछि पार्टीभित्र विशेष महाधिवेशन बोलाएर नेतृत्व परिवर्तन गर्नुपर्ने आवाज उठ्दै आएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सदस्यता नवीकरण नगरेपछि उनी र अध्यक्ष ओलीबीच विगत डेढ वर्षदेखि दूरी बढेको चर्चा हुँदै आएको छ । यद्यपि आइतबारको भेटलाई एमालेभित्र विकसित पछिल्ला राजनीतिक गतिविधिसँग जोडेर पनि हेरिएको छ ।

स्रोतका अनुसार भेटवार्तामा एमालेभित्र भइरहेका विभिन्न भेला, नेताहरूका अभियान तथा पार्टीको भावी रणनीतिबारे समेत छलफल भएको हुनसक्ने अनुमान गरिएको छ ।