प्रधानन्यायाधीश सिफारिसबारे मनोज शर्माको संसदीय सुनुवाइ आजै

12 Shares

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस भएका सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको संसदीय सुनुवाइ शुक्रबार नै हुने भएको छ ।

संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले शर्माको सुनुवाइका लागि शुक्रबार अपराह्न ४ बजे बैठक बोलाएको हो । बैठक राज्य व्यवस्था तथा सुशासन समितिको कार्यकक्षमा बस्ने जनाइएको छ ।

संवैधानिक परिषद्को सिफारिसपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

बिहीबार बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

परिषद्ले कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाललाई छाडेर चौथो वरीयतामा रहेका शर्मालाई सिफारिस गरेपछि राजनीतिक तथा कानुनी वृत्तमा विवाद उत्पन्न भएको छ ।

परिषद्को निर्णयमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।

नेपाली कांग्रेस र नेकपा एमालेले समेत उक्त सिफारिसको विरोध जनाएका छन् ।

उक्त निर्णयविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन पनि दर्ताका लागि पेस गरिएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले रिट दायर गरेका हुन् । यद्यपि, रिट दर्ता प्रक्रिया भने अझै पूरा भइसकेको छैन ।