काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले पदबहाली गरेका छन् ।
बिहीवार महासंघ कार्यालयमा उनले पदबहाली गरे । अध्यक्ष श्रेष्ठसहितका पदाधिकारीहरुले समेत पदबाहाली गरे । पदबाहालीपछि बोल्दै अध्यक्ष श्रेष्ठले निजी क्षेत्रको मनोबल उकास्न आफ्नो कार्यकालमा काम गर्ने बताए ।
उनले निजी क्षेत्रको मनोबल बढाउन सरकारसँग समन्वय गरेर विभिन्न नीतिगत सुधार गर्ने समेत बताए । उनकाअनुसार निजी क्षेत्रलाई प्रोत्साहन र लगानी सुरक्षाको प्रत्याभुति दिन सरकार गम्भीर बन्नुपर्छ । निजी क्षेत्रको प्रवद्र्धन तथा सुरक्षा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भइसकेकोतर्फ लक्षित गर्दै उनले अब यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
श्रेष्ठले अहिले बजारमा माग अत्यन्त कमजोर रहेको, जनताको क्रयशक्ति घटेको तथा अर्थतन्त्रमा पुँजी परिचालन सुस्त भएको अवस्था रहेको बताए । उनले पुँजी परिचालन बढाउन सरकारले आगामी बजेटबाट आवश्यक कदम चाल्नुपर्नेमा जोड दिए ।
अध्यक्ष श्रेष्ठकाअनुसार अहिले विशेषगरी साना तथा मझौला उद्योगहरू अहिले सबैभन्दा बढी समस्यामा छन् । बैंकिङ प्रणालीमा प्रशस्त लगानीयोग्य रकम भएपनि साना उद्योगहरूले आवश्यक कर्जा र लगानी पाउन नसकेको अवस्था छैन ।
विगतमा सहकारी क्षेत्रले करिव ६ खर्ब रुपैयाँ पुँजी परिचालन गर्दै आएको तर सहकारी संकटपछि साना उद्योगमा लगानी अभाव चुलिएको उनको भनाइ छ । अध्यक्ष श्रेष्ठले अब बैंकहरूले साना तथा मझौला उद्योगमा लगानी कसरी विस्तार गर्ने भन्ने विषयमा स्पष्ट रणनीति बनाउनुपर्ने आवश्यकता औँल्याए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया